कोरोना विरुद्ध जनचेतना फैलाउन घरदैलो अभियान
मदन वि.क. । ८ चैत्र चामुण्डा (दैलेख)
चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले नागरिकको घरदैलोमा पुगेर कोरोना भाइरस विरुद्ध चनचेतना फैलाउन जनप्रतिनिधि र स्वास्थ्यकर्मिहरुलाई निर्देशन दिएका छन् । शुक्रवार नगरप्रमुख शाहीले प्रेस विज्ञप्ती जारी गर्दै नागरिकको स्वास्थ्य भन्दा ठुलो केही नभएकाले घरदैलोमा पुगि कोरोना भाइरस विरुद्ध जनचेतना फैलाउन निर्देशन दिएका हुन् ।
साथै भाइरसबाट बच्न सार्वजनिक समारोह, २५ जना भन्दा बढी नागरिकहरु जम्मा नहुने अत्यआवश्यक दैनिक काम बाहेक हिड्हुल नगर्न विरामीलाई अस्पताल तथा स्वास्थ्य चौकीमा विरामी भेट गर्न अति आवश्यक बाहेक अस्पताल नजाने, मेला पर्व भिडमा विना काम नजाने, जानै पर्ने अवस्थामा आवश्यक सतर्कता अपनाउन नगरवासीलाई प्रेस विज्ञप्ती मार्फत अपिल गरिएको छ ।
यसैगरी नगरवासीको स्वास्थ्य सुरक्षाका विषयमा नगरपालिका प्रतिबद्ध रहेको जानकारी गराउदै सबैलाई आ–आफ्नो स्वास्थ्य अवस्था बारे सचेत रहन, रोकथामका उपायहरु अवलम्वन गर्न प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शुक्रवार नै स्वास्थ्य व्यवस्थापन समितिको बैठक बसि नगरपालिकाका प्रमुख नाकाहरुमा भाइरस विरुद्ध जनचेतना फैलाउन र चेकजाँच गर्न हेल्थ डेक्स स्थापना गर्ने निर्णय भएको नगरपालिका नायब सुब्बा लोकेशकुमार शाहीले जानकारी दिए । कर्णाली राजमार्गबाट नगरपालिका आउने मुख्य प्रवेशद्धार साङ्गेतडा र मध्य पहाडी राजमार्गको प्रमुख प्रवेशद्धार लैनचौर र नगरपालिकाको सदरमुकाम जम्बुकाँधमा हेल्थ डेक्स स्थापना गर्ने निर्णय भएको उनले बताए ।