दैलेख प्रहरीद्धारा क्वारेन्टाईन निर्माण

मातृभूमी संवाददाता । ८ फागुन दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेखले १५ वेडको क्वारेन्टाईन स्थापना गरेको छ । दैलेखमा कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै शनिवार प्रहरीले १५ बेडको क्वारेन्टाइन स्थापना गरेको हो । प्रहरीले स्थापना गरेको क्वारेन्टाईनमा पहिलो प्राथमिकता जिल्ला प्रहरी कार्यालय मातहत रहेका प्रहरी र त्यसपछि समस्या नै भए आम सर्वसाधारणका लागी क्वारेन्टाईन उपलव्ध गराउने जिल्ला प्रहरी कार्याल दैलेखका प्रमुख डिएसपी हरिवहादुर वलीले जानकारी दिए ।
उनले भने, ‘हाल सम्म कुनै पनि निकायवाट सहयोग लिईएको छैन । शनिवार दिउँसो पत्रकार सन्दिप विश्वकर्माले ५० वटा माक्स उपलव्ध गराउनुभयो । अरु अपुग माक्स मगाईएको र स्नेटाईजरको पनि व्यवस्था गर्न लागिएको छ ।’ उनले अरु कार्य सम्वन्धीत निकायसँग सहकार्य गरेर अघि वढ्ने वताए ।
यस्तै नेपाली सेनाले पनि विभिन्न निकायसँग सहकार्य गरेर कार्यहरु अघि वढाईएको जनाईएको छ । इन्द्रदल गुल्मका सेनानी गणेशराज पन्तका अनुसार गुल्म भित्र १० वेडको आईसोलोसुन स्थापना गरिएको छ । उनले भने, ‘अन्य निकायसँग मिलेर नारायण नगरपालिकाको तर्ताङ्गमा रहेको सरस्वती माध्यामिक विद्यालयमा क्वारेन्टाईनको काम गरिरहेका छौँ । तत्काललाई ५०÷६० वेडको क्वारेन्टाईन वनाउने काम भैरहेको छ ।’
सेनानी पन्तले दैलेखको गुराँसे र राकमकर्णालीमा मेडिकल तालिम प्राप्त जनशक्ति सहित स्वास्थ्यकर्मीको टोलिले नियमित चेकजाँच गरीरहेको वताए । क्वारेन्टाईन निर्माणका लागी सरस्वती माध्यामिक विद्यालयलाई पहिलो प्राथमिकतामा राखिएको र आवश्यक परे नारायण क्याम्पसलाई पनि प्रयोग गर्न सकिने वताए ।
यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेखमा आईसोलोसन कक्ष स्थापना गरिएको छ । नारायण नगरपालिकामा नगर प्रमुख रत्नवहादुर खड्को संयोजकत्वमा रोकथाम सम्वन्धी समन्वय समिति गठन गरिएको छ भने वडामा वडाअध्यक्षको संयोजकत्वमा समन्वय समिति गठन गरिएको जनाईएको छ ।
यस्तै प्रदेश सरकारले कोरोना रोकथामको लागि ५० करोड रुपैयाँको विपद व्यवस्थापन कोष समेत स्थापना गर्ने निर्णय गरेको छ । हिमाली तथा पहाडी जिल्लामा कोरोनाको कारण कुनै बिरामीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थामा आएमा हेलिकोप्टर पनि प्रयोग गरिने कर्णाली प्रदेशका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिइन् ।
सरकारले सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा कार्यान्वयन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा अनुगमन समिति र उद्योग तथा पर्यटनमन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा आपूर्ति समितिसमेत गठन गरेको प्रवक्ता केसीले बताइन् ।
प्रवक्ता केसीका अनुसार यो सिजनमा मात्र करिब १ लाख कर्णाली वासी घर फर्किने अनुमान गरिएको छ । ‘भारतसँगको सीमा सिल नगरिएको कारण मान्छेहरु धमाधम आइरहेका छन्, तर हामीले प्रदेश प्रवेश गर्ने नाकामा कडाइ गरिरहेका छौं,’ उनले भनिन्, ‘राम्रोसँग परीक्षण भएन भने भयावह अवस्था आउन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *