तपाँईको उपचारका लागी घरमै आउँछौँ : स्वास्थ्य कार्यालय

मातृभूमी संवाददाता । १२ चैत्र दैलेख
जिल्ला स्वास्थ्य कार्यालय दैलेखले सार्वजनिक सूचना जारी गर्दै कोहि विरामी भएका स्वास्थ्यकर्मी घरमै आउने भनेको छ । सूचनामा भनिएको छ ‘तपाँईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एक कल फोन गर्नुहोस, हामी तपाँईहरुको उपचारका लागि घरमै आउँछौं ।’ विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले यहाँका गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको हो ।
कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोली सहित घरमै गएर उपचार गर्ने रणनीति बनाएको हो । जिल्लाका ९० वडामध्ये ८९ वडामा सडकको सजिलै पहुँच भएकाले घरघरमै गएर उपचार गर्न सम्भव भएको जिल्ला जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताए । उनले भने, ‘कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाँईको घरमै आउँछौंं ।’ कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालिएको रेग्मीले वताए । कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।
स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र एम्वुलेन्स चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ । यी नम्बरहरुमा फोन आउना साथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिए । हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल, रेडियो र सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टाँसी सकेका छौं’ उनले भने ।
सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने रेग्मीको भनाइ छ । लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको उनको भनाई छ । कोरोना सङ्क्रमितका लागि दैलेख अस्पतालमा १५, महावु गाउँपालिकामा ५, दुल्लू नगरपालिकामा ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैया र नारायण क्याम्पसमा १०० शैयाकोे क्वारेन्टाइन तयार पारिएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दैलेखले यस अघि नै १५ वेडको क्वारेन्टाईन स्थापना गरिसकेको छ ।

देशभर लकडाउन : स्वास्थ्यकर्मी जुवातासमा

कोराना भाइरस (कोभिड–१९) को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ ।
तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ । गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’ मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही स्थानीयवासीसँग तास खेलिरहेको पाइएको हो । जुवातासबाट एकअर्कामा सरूवा रोगहरू सर्न सक्ने चिकित्सकहरूको भनाइ छ ।
गाउँपालिकाले कोभिड–१९ प्रतिकार्य योजना अन्र्तगत गाउँपालिकाका ४ वटा सिमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए । उनका अनुसार हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीले पाउने सेवा सुविधामध्ये थप आधा महिना बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका छन् ।

कोरोनाको त्रास : जताततै सुनसान

विश्वभरि महामारीको रुप लिएको ‘कोभिड –१९’ ले दैलेख जिल्ला सरमुकाम लगायत अन्य बजार सुनसान छन् भने गाउँघरमा चहलपहल बढ्दै गएको छ । शहरदेखि भारत वा तेस्रो मुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाइन नहुँदा जोखिम बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।
जिल्लाका ११ स्थानीयतहमध्ये आठविस नगरपालिका, नौमुले गाउँपालिका, गुराँस गाउँपालिका, भवतीमाई गाउँपालिका र दुल्लू नगरपालिकामा आइसोलेशन शैया तयार पारिएको छ भने अन्य गाउँपालिकामा न त क्वारेन्टाइन शैया तयार पारिएको छ, न त आइसोलेशन शैया नै । त्यसैले गाउँ भन्दा शहर नै सुरक्षित रहेको जानकारहरु वताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *