भैरवी गाउँपालिकाद्धारा विवाह र ब्रतबन्धमा रोक

मातृभूमी संवाददाता । १३ चैत्र दैलेख
दैलेखको भैरवी गाउँपालिकाले विवाह तथा ब्रतबन्ध लगायतका कार्यमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई न्यूनिकरण गर्न तत्कालका लागि सामाजिक परम्परा अनुसार गरिने विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव लगायतका मानिस भेला हुने कुनै पनि कार्य गर्न गाउँपालिकाले रोक लगाएको हो ।
सकेसम्म भेला हुनेखालका कुनै पनि काम नगर्न र गर्नैपर्ने बाध्यात्मक कामहरु भने धेरै जना भेला नभएर गर्न नागरिकलाई अनुरोध गरिएको गाउँपालिकाका प्रेस सल्लाहकार गोविन्ददेव भारतीले जानकारी दिए ।
गाउँपालिकाले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथामका लागि उच्च सर्तकता अपनाएको छ । बाहिरबाट गाउँपालिकामा भित्रिने व्यक्तिहरुको स्वास्थ्य जाँचका लागि वडा नं. १ को भीरखेत र वडा नं. ३ को चगत्रामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । भारत लगायत अन्य मुलुकबाट गाउँपालिकामा आउनेहरुको नाम, ठेगाना, आएको स्थान लगायतको विवरण क्वारेन्टाईन स्थलका कर्मचारी, वडा सचिव, वडा अध्यक्ष मार्फत संकलन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापाले जानकारी दिए ।
रोजगारीका लागि भारत लगाएत अन्य मुलुकबाट गाउँपालिकामा प्रवेश गर्ने जोकोहीलाई दुई सातासम्म अनिवार्य क्वारेन्टाईनमा राख्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए । उनका अनुसार भारत तथा तेस्रो मुलुकबाट गाउँपालिकामा आउने नागरिकहरुलाई स्वास्थ्य जाँच पछि कोरोना भाईरसको लक्षण देखिएमा राख्नका लागि गाउँपालिकाको वडा नं. २ मा रहेको पञ्चदेवल माध्यमिक विद्यालय रावतकोट र वडा नं. ४ मा रहेको गौरी माध्यमिक विद्यालय बालेकाँडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी गरेको प्रेस सल्लाहकार भारतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *