दैलेख सदरमुकाममा २० शैयाको आइसोलेसन स्थापना
मातृभूमी संवाददाता । १३ चैत्र दैलेख
दैलेख सदरमुकाममा २० शैयाको आईसोलेसन स्थापना गरिएको छ । विश्वरभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै दैलेख सदरमुकाममा २० शैयाको आईसोलेसन स्थापना गरिएको हो । दैलेखको नारायण क्याम्पसमा १ सय शैयाको क्वारेनटाइन र सरस्वती मावि तर्ताङ्गमा २० शैयाको आइसोलेसन स्थापना गरिएको हो ।
कामको शिलसिलामा भारत गएकाहरु धमाधम गाउँ फर्किएपछि दैलेख कोरोनाको उच्च जोखिममा रहेको छ । पढाइको शिलशिलामा शहर छिरेका सबै गाउँमा आउँदा मानिसको भीडभाड हुने गरेको छ । यस्तो समयमा जो जहाँ छौँ त्यहीँ सुरक्षीत हुनुपर्ने समयमा आएको छ । गाउँमा छिरेका कोही–कसैलाई संक्रमण देखिएमा शहर जस्तो गाउँमा तत्काल उपचार हुने ठाउँ छैन । गाउँमा जताततै संक्रमण फैलिँदै जाने देखिन्छ ।
दैलेख जस्तो विकट ठाउँमा भारत वा तेस्रो मुलुकबाट गाउँमा मानिस फर्किएपछि गाउँमा धेरै मानिसहहरू गाउँमा घरभित्रै बस्न सम्भव छैन । गाउँघरमा वस्तुभाउ पाल्ने हुनाले उनिहरू वनजंगल गर्नुपर्ने हुन्छ । यद्यपी केसैलाइ कोरोनाको संक्रमण भएमा उस्ले १०–१५ दिन घरमै रुघाखोकीको तातो पानी खाएर सन्चो हुन्छ भन्दै बस्ने हुँदा शहरभन्दा गाउँमा यसको जोखीम बढी देखिन्छ ।
जिल्लाका ११ वटा स्थानीय तहमध्ये आठविस नगरपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिका, भगवतीमाई गाउँपालिका र दुल्लू नगरपालिकामा क्वारेन्टाइन तयार गरिएको छ । अन्य गाउँपालिका र नगरपालिकामा क्वारेन्टाईन नहुँदा भारत र तेस्रो मुलुकवाट फर्किएका मानिस निर्धक्क गाउँघरमा जाने गरेका छन् ।
१० जनामा ज्वरो देखियो
दैलेखका चार स्थानीय तहमा १० जनामा ज्वरो देखिएको छ । ज्वरोका विरामीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आएपछि निगरानीमा राखिएको जनाइएको छ । दैलेखमा ज्वरोका विरामीहरु देखिएपछि निगरानीमा राखिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । ज्वरो देखिनेमा भारतबाट फर्किएकाहरु र गाउँमै बसेकाहरु रहेका छन् ।
अहिले स्वास्थ्यकर्मीहरु परिचालन गरि विरामीहरुको हेरचार गरिएको छ । भगवतीमाई गाउँपालिकामा ५ जना, दुल्लु नगरपालिकामा २ जना, आठविस नगरपालिकामा २ जना र नौमुले गाउँपालिकामा १ जनालाई ज्वरो देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निराजन पन्तले बताए । कोरोना भाइरसले नागरिकहरु असुरक्षा महशुस गरेका बेला त्यस्तै लक्षण देखिएपछि दैलेखमा सुरक्षित रुपमा उपचार प्रवन्ध मिलाइएको छ । ‘नौमुले र अन्य पालिकामा केही विरामीमा ज्वरो घट्दै गएको छ ।’ डा. पन्तले भने, अन्य पालिकामा स्वास्थ्यकर्मीहरुले निगरानी उपचारको व्यवस्था मिलाएका छौं । उनीहरुको अवस्था जटिल भए, जिल्लामा बनाइएको आइसोलेसनमा राखेर उपचार गर्ने तयारी गरेका छौं ।’ ज्वरो आएकामध्ये केही भारतवाट फर्किएर आएको प्रमुख जिल्ला अधिकारी कटेलले बताए ।