कर्णालीमा परीक्षण गरिएका ४ व्यक्तिको रिर्पोट नेगेटिभ
मातृभूमी संवाददाता । २० चैत्र दैलेख
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा कोरोना भाइरसका शंकास्पद ४ बिरामीको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको छ । पहिलो पटक कर्णालीमै कोरोनाका स्वाब परीक्षण गरिएका चारै जनाको रिपोर्ट नेगेटीभ आएको प्रदेश अस्पतालले जनाएको छ । परीक्षण गरिएका ति विरामीको स्वाब नमूना जाँच गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको स्वास्थ्य सेवा निर्देशक रिता भण्डारी जोशीले जानकारी दिईन् ।
भारतवाट आएका ४ जनाको ‘पहिलो टेस्ट गर्दा नेगेटिभ रिर्पोट आयो, उनले भनिन् अन्यको टेस्ट गरेर प्रत्येक दिन साँझ ५ बजे रिर्पोट सार्वजनिक गर्ने भएका छौं ।’
नमूना जाँचका लागि काठमाडौंवाट आएका प्रयोगशाला विज्ञको रुपमा रामकृष्ण श्रेष्ठले ल्याब टेक्निसियनलाई सिकाइरहेको र ६ जनाले प्रयोगशालामा सिकिरहेको उनले जानकारी दिईन् । उनका अनुसार प्रदेश अस्पतालमा उपलव्ध मेशिनवाट १ घण्टामा १ रिपोर्ट निकाल्न सकिने र १८ घण्टा काम गरेर भएपनि १५ वटा जाँच गर्ने लक्ष्य रहेको छ । अहिले ५ सय नमूना जाँचका लागि सामान उपलब्ध भएको वुझिएको छ ।
प्रयोगशालामा पूर्वाधार अभाव भएकोले लकडाउनका कारण काठमाडौंबाट आवश्यक सामानहरू ल्याउन कठिनाई भएको अस्पतालले जनाएको छ । हाल प्रदेश अस्पतालमा जाँच गर्ने जनशक्तिका लागि २० सेट जति व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) रहेको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशभर कम्तिमा ४५ जनाको दैनिक रुपमा जाँच गर्न सकीने आशा गरिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार स्वाव जाचका लागि अधिकांश भारतवाट आउने नै प्राथमिकतामा रहेका छन् ।