नारायणका विपन्नलाई राहत वितरण
मातृभूमी संवाददाता । २२ चैत्र दैलेख
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेका नगरवासीलाई नारायण नगरपालिका दैलेखले राहत वितरण गर्न थालेको छ । नगरपालिकाले अतिविपन्न, असाहय र मजदुरवर्गका नागरिकलाई राहत वितरण सुरु गरेको हो ।
नारायण नगरपालिका नगरप्रमुख रत्नवहादुर खड्काले शनिवारदेखि त्यस्ता व्यक्तिलाई राहत वितरण गरिएको वताए । नगरप्रमुख खड्काका अनुसार अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने कार्यक्रम रहेको छ । राहत लिनका लागि वडा–वडावाट लागत संकलन गरिएको र जनप्रतिनिधीको रोहवरमा खाद्यान्न सामाग्री वितरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख खड्काले वताए ।
राहत सामग्रीमा २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, २ केजी नुन र २ वटा लाईफव्याय सावुन लगायतका सामग्री रहेको नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठले जानकारी दिए । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।
यस्तै नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्लले यो विपद्को घडिमा विपन्न समुदायका नागरिकलाई राहत वितरण गर्नु जनप्रतिनिधीको कर्तव्य र जिम्मेवारी भएको वताईन् । उपप्रमुख मल्लले भनिन्, ‘जनताले अनुमोदन गरेर पठाएका हामी जनप्रतिनिधीहरु नै विपन्न समुदायका नागरिकलाई सहयोग गर्नु कर्तव्यवोध ठानेका छौँ ।’
यसबेला दैनिक ज्यालादारी र मजदुरी गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको छ । जसअनुसार नारायण नगरपालिकाले सबै वडामा राहत वितरण गर्न लागेको हो । नारायण नगरपालिकाले वनाएको मापदण्ड अनुसार आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ ।
त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ । दैनिक ज्याला मजदुरीमा काम गर्ने परिवारलाई राहत वितरण गरिने छ । जसअन्र्तगत २ जना भन्दा वढि परिवार भएका घर परिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, २ केजी नुन र २ वटा लाईफव्याय सावुन लगायतका सामग्री दिइनेछ भने २ जनाको परिवार भएका घर परिवारलाई प्रति परिवार त्यसको आधा राहत वितरण गरिने छ । नारायण नगरपालिका वडा नं. ६ मा भोली आइतवारका दिन लागत संकलनका आधारमा राहत वितरण गरिने कार्यक्रम रहेको वडा अध्यक्ष प्रकाश न्यौपानेले वताए । साथै वडाका प्रत्येक टोलमा हात धुनका लागि सावुन पानीको व्यवस्था गरिएको अध्यक्ष न्यौपानेले वताए ।