राहत वितरणमा सोसेकको सक्रियता

महेन्द्र सापकोटा । २४ चैत्र दैलेख
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखले राहत वितरणमा सक्रियताका साथ लागेको छ । लकडाउनको समयमा दैनिक गुजारा चलाउन मुस्किल परेका विपन्न घरपरिवालाई सोसेकले राहत वितरण गरेको हो ।
कोरोना भाइरस संक्रमणको कारण सरकारले लकडाउन घोषणा गरेपछि खाद्यान्नको समस्या भएका परिवारलाई मापदण्ड अनुसार राहत वितरण सुरु गरिएको सामाजिक सेवा केन्द्र सोसेकका टिकाराम सापकोटाले वताए । दैलेखका दुल्लु नगरपालिका, आठविस नगरपालिका, भैरवी गाउँपालिका र नौमूले गाउँपालिकामा खाद्यन्न तथा क्वारेन्टाइनको लागि सामाग्रीहरु वितरण गरिएको सापकोटाले वताए । सापकोटाका अनुसार डिसिए को सहयोगमा चामल, नुन तेल, दाल, लगाएत क्वारेन्टानका लागि सिरक, डसना, सिरानी सहितका सामाग्रीहरु वितरण गरिएको छ । साथै पिपिए सेट, सेनीटाइजर, माक्स,ग्लोब्स लगाएतका सामाग्रीहरु वितरण गरिएको उनले वताए ।
हालसम्म झण्डै २५ लाख रुपैया वरावरको विभिन्न सामाग्री तथा खाद्यन्न वितरण गरिएको जनाइएको छ । नौमूले गाउँपालिकामा क्वारेन्टाइनका लागि सिरक डसना वितरण गरिएपछि ठुलो राहत भएको नौमूले गाउँपालिका अध्यक्ष भदे वुढाले वताए । यस्ता सामाजिक संस्थाहरुले यो महासंकटको समयमा गरेको सहयोगले गाउँपालिकालाई काम गर्न सहज भएको अध्यक्ष वुढाले वताए ।
क्वारेन्टाइनका लागि समस्या भएका वेला सोसेकले गरेको सहयो महत्वपूर्ण भएको नौमूले गाउँपालिका २ वालुवाटारका अध्यक्ष मोतीलाल खत्रीले वताए । सोसेक नेपाल दैलेखले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने गरी नगरपालिका तथा गाउँपालिका मार्फत राहत वितरण गर्दै आएको छ । सोहि अनुसार सोसेकले २५ केजीको १ सय ४६ बोरा सोनामनसुली चालम, १ सय ४६ लिटर तेल, १ सय ४६ प्याकेट आयोडिन नुन, १ सय ४६ केजी दाल, १ सय ४६ केजी चिनि र ३० केजी चियापत्ती आइतवार दुल्लु नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
नगरपालिकालाई हस्तान्तरण गरिएको खाद्य सामग्री नगरपालिका मार्फत नै नगर क्षेत्रका बादी समुदाय, एकल महिला, एचआइभी संक्रमित, अपांगता भएका व्यक्ति तथा अति विपन्न परिवारलाई वितरण गरिएको सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । यस्तै सोसेकले १२ थान पीपीई सेट, ३ सय थान मास्क, २ प्याकेट ग्लोब्स, ३० पीस सेनीटाइजर, क्वारेन्टाइन निर्माणका लागि २० सेट बेड हस्तान्तरण गरिसकेको छ । राहत वितरण मापदण्डमा ८ जना सदस्य सम्मको परिवार रहेको घरमा २५ केजी चामल, २ केजी दाल, एक केजी नुन, एक केजी चिनि, दुई सय ग्राम चियापत्ती र एक लिटर तेल दिने व्यवस्था गरिएको छ । सो भन्दा बढि सदस्य भएका परिवारलाई ३ केजीका दरले चामल थप दिने गरी मापदण्ड बनाईएको दुल्लु नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *