कोरोना विरुद्धको होसियारीमा ठाँटिकाँध कमजोर
मातृभूमी संवाददाता । ०२ वैशाख दैलेख
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्व आतंकित भैरहेको छ । विश्वमा यस भाइरसको संक्रमणको जोखिमवाट जोगिन विभिन्न उपायहरु अपनाईएको छ । नेपालमा गएको चैत्र १० गतेदेखी लक डाउन गरिएको छ । दैलेखका विभिन्न स्थानीय तहहरुले कोरोनाको संक्रमणवाट वच्न विभिन्न उपायहरु अपनाईरहेका छन् तर दैलेखको पश्चिममा पर्ने ठाँटिकाँध गाउँपालिका भने कोरोना विरुद्धको होसियारीमा कमजोर देखिएको छ ।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना प्रभावित विश्वका सबै राष्ट्रलाई सामाजिक दूरी कायम गर्न अर्थात् आपसी भेटघाट र भिडभाड नगर्न सुझाव दिएको छ । सोही बमोजिम अहिले नेपाल लगायतका देशले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन अर्थात् पूरै देश बन्दाबन्दी गराएका छन् भने व्यक्ति–व्यक्तिबीचको भेटघाट र शारीरिक निकटता कम गराएका छन् ।
दैलेखका विभिन्न स्थानीय तहहरु पुरै वन्दावन्दिको अवस्थामा छन् । एक पालिका देखी अर्काे पालिका जानका लागी सम्वन्धीत निकायको प्रवेशपास लिएर जानु पर्दछ भने व्यक्ति व्यक्तिवीचको दुरी पनि कम गरिएको छ । यहाँका विभिन्न स्थानीय तहले क्वारेन्टाइन, आइसोलेसन निर्माण गर्नुका साथै जिल्ला वाहिर तथा भारत लगाएत तेस्रो मुलुकवाट आउने नागरिकलाई क्वारेन्टाइनमा राखेका छन् । तर ठाँटिकाँध गाउँपालिकाले न त भारत लगाएत तेस्रो मुलुकवाट आउने नागरिकलाई क्वारेन्टाइनमा राखेको छैन ।
ठाँटिकाँध गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) लाई गम्भीरता पूर्वक नलिएको पाईएको छ । गाउँपालिकामा रहेका कामगरी खानेका लागी नत राहतका कार्यक्रम ल्याएको छ न विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन नै निर्माण गरेको छ । गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि उपलव्ध गराएको छैन ।
सेनिटाईजर, सर्जिकल मास्क, हात धुने सावुन समेत गाउँपालिकाका सवै वडामा नपुगेको स्थानीयहरु वताउँछन् । लक डाउनका कारण यातायातका साधन संचालनमा नआएपछि गाउँघरमा खाद्यान्नको समस्या वढ्दै गएको स्थानीयको भनाई छ । ठाँटिकाँध गाउँपालिका २ का एक स्थानीयले भने, ‘किनेर खाउ भने पसल सवै वन्द छन् । पसलमा आवश्यक खाद्यान्न पनि पाईदैन । आफ्नो वारीमा गहुँ जौ पोकेको पनि नपाक्दा निकै समस्या छ ।’
गाउँपालिकाले अहिले सम्म कुनै पनि राहतका कार्यक्रम संचालन नगर्दा आफुहरु मर्कामा परेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । भारतवाट सयौँ मान्छे गाउँपालिकामा भित्रिए पनि उनीहरुलाई अहिले सम्म क्वारेन्टाईनमा राखिएको छैन । ठाँटिकाँध गाउँपालिकाका विभिन्न वडामा क्वारेन्टाइन निर्माण गरिएको भएपनि अहिले सम्म कसैलाई पनि क्वारेन्टाइनमा नराखिएको गाउँपालिका स्रोतले जनाएको छ ।
ठाँटिकाँध गाउँपालिकामा भारत तथा विभिन्न मुलुकवाट भित्रिएका १ सय ५७ जना मध्ये कसैलाई पनि क्वारेन्टाइनमा नराखिएको र सवै जना होम क्वारेन्टाइनमा वसेको स्थानीयवासिन्दाको भनाई छ ।