कविता : यहाँ के छ ? के छैन ? (३)
हेमराज उपाध्याय
ठाँटिकाँध, दैलेख
कोरोना अति क्लिष्ट चाल अहिले चल्दै छ नेपालमा
हामी कोभिड त्रस्त आम जनता पर्छौं कि बेहालमा ?
शैया छैन छ अस्पताल अपुरो नर्सादी औ औषधि
सस्तोमा सरकारको चुरिफुरी देखिन्छ केही बढी ।।
(१)
नेता छैन दरिद्र किन्तु जनता रोएर बाँच्छन् जहाँ
मन्त्री भोज भतेर टन्न हसुरी गाएर नाँच्छन् यहाँ ।
ओलीको पनि चाल छैन कसिलो श्री विष्णु छन् चम्किला
अर्का ती भिम छन् बरु सकसिला राम्रा निकै गम्किला ।।
(२)
आभा मन्द छ पुष्पको चहकिलो बन्दैन जस्तो भयो
बोल्दैनन् किन हो र माधब कतै सम्बाद कस्तो रह्यो ?
सत्तामा पनि छैन शेर अहिले गर्जिन्न दाह्रा कसी
के गर्छन् अनि रामचन्द्र अहिले आफ्ना घरैमा बसी ??
(३)
ज्यादै थर्किन जान्दछन् गगनजी आशा सबैको बनी
बल्दैनन् किन सन्त अन्तपुरका आगो बनी दन्दनी ।
हेरौ देश जलेर दन्कि रहँदा जल्दैन को सारथि ?
आफ्नो सान गुम्यो भने फगतमा भोग्ने छ त्यो दुर्गती।।
(४)
मन्त्रीका दलमा कतै महलमा खाँचो छ केही भने
नेता हो भन भेज्न सक्छ जनता चाहिँन्छ केही भने ।
लुछ्दै भारतले लियो लिपु अझैँ लिने इरादा छ के ?
बोल्दैनौ किन चुप्प छौ महलमा दिने इरादा छ के ??
(५)
दाताको मन छैन दिन्न कहिले माँगे र थापे जति
ठूलो बन्छ दलाल भन्छ जनको देख्दैन त्यो दुर्गती ।
ठूलो छैन र के भयो त गरिमा गल्दैन यो देशको
ज्वाला बल्दछ ताप दिन्छ ममता बल्दैन नैमेषको ।।
. . .
(नोट–यो कविता तीन चरणमा लेखेको हुनाले शीर्षकको पछि ३ थपिएको हो।दुईवटा मैले यस अघि नै पेश गरिसकेको छु ।)