क्वारेन्टाइनमा वसेकाको गुनासो, स्थानीय सरकारले जनावरको जस्तो पनि व्यवहार गरेन

मातृभूमी संवाददाता । १० जेष्ठ दैलेख
रोजगारीका लागी भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरु अहिले धमाधम घर फर्किरहेका छन् । भारत सरकारले रेलसेवा सुरु गरेसँगै नेपालीहरु घर फर्किरहेका छन् । यो क्रम जारी छ । बिहीबार मात्रै रुपैडिया नाकाबाट दैलेखका विभिन्न स्थानीय तहका एक हजार बढी नागरिक जिल्ला भित्रि सकेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । तर, क्वारेन्टाइन नाम मात्रैका छन् । क्वारेन्टाइनमा खानेपानी, शौचालय, ओड्ने ओछ्याउनेदेखि खानपिनकोसमस्या छ । विद्यालयको डेक्स बेन्च जोडेर सुत्नु पर्ने बाध्यता रहेको क्वारेन्टाइनमा बसेकाहरु बताउँछन् । क्वारेन्टाइनमा स्वास्थ्यकर्मी समेत बस्दैनन् ।
जिल्लाका अधिकांश ठाउँमा क्याम्पस र सामुदायिक विद्यालयको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । जहाँको अस्तव्यस्तताले संक्रमण रोक्ने होइन, स्वस्थ्य मान्छेलाई पनि संक्रमित बनाउने खतरा बढाएको नाम नछाप्ने सर्तमा क्वारेन्टाईनमा वसेकाहरु वताउँछन् । यहाँको नारायण नगरपालिकाले नारायण क्याम्पस रामपुरमा निर्माण गरेको क्वारेन्टाइनको अवस्था पनि उस्तै छ । नारायण क्याम्पकसको क्वारेन्टाइनमा बसेका तीन जनामा आरडीटी पोजिटिभ देखिएको छ । अहिले नारायण क्याम्पसको क्वारेन्टाइनमा वसेकाहरुले आफुहरुलाई भेडाबाख्रा जसरी राखिएको र आफुहरु सुरक्षित नभएको गुनासो गरेका छन् । स्थानीय सरकारले जनावरको जस्तो पनि व्यवहार नगरेको उनीहरुले गुनासो गरेका छन् ।

क्वारेन्टाइनमा खानेपानी, शौचालय, ओड्ने ओछ्याउनेदेखि खानपिनको व्यवस्थापनका लागि नगरपालिकाका जनप्रतिनीधि, प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपनि कसैले चासो नदेखाएको उनीहरुको भनाई छ । नारायण क्याम्पसको क्वारेन्टाइनमा अहिले झण्डै अढाइ सयको हाराहारीमा मानिसहरु वसिरहेका छन् । दैलेख जिल्लाभरी निर्माण गरिएका क्वारेन्टाइनमा आधारभुत मापदण्ड पनि पुरा नगरेकाे स्थानीय जानकारहरू वताउँछन् ।