नौमूलेका हाकिमको कार्य कक्षमै एक युवाले च्याते फाईल, युवा प्रहरी नियन्त्रणमा
मातृभूमी संवाददाता । २६ जेष्ठ दैलेख
दैलेखको नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद कोईरालाको कार्य कक्षमै कागज पत्र च्यातिएको छ । सोमवार औषधी खरिदको लागी फर्म दर्ता गर्ने समयमा दर्ता गरिएको फर्म अधिकृत कोईरालाको कार्य कक्षमै पुगेर ठेकेदारहरुले फर्म च्यातेका हुन् । प्रमुख प्रशासकीय अधिकृत कै कार्य कक्षमा पुगेर फर्म च्याते पछि स्थीति केहि वेर तनावग्रस्त भएको थियो ।
टेन्डरको फर्म दर्ता गर्ने समय २ मिनेट वाँकी रहँदा रहँदै रारा मेडिसिन डिस्टिवियूटर्सका एजेन्ट भैरवी गाउँपालिका ४ का आसिस थापाले हिल्स मेडिसिन डिस्टिवियूटर्सको टेन्डर फर्म च्यातेका हुन् । फर्म च्याते पछि रारा मेडिसिन डिस्टिवियूटर्सका एजेन्ट आसिस थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कोईरालाले आफ्नो कार्यकक्षमा नै यस्तो हर्कत देखाउने थापालाई कानुनी उपचार गर्ने वताएका छन् । अधिकृत कोईरालाले फर्म च्याते लगतै दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, सार्वजनिक खरिद अनुगमन समितिको कार्यालय लगाएतका सम्वन्धित निकायलाई जानकारी गराई सकेको वताएका छन् ।