एकै पटक दैलेखका २२ जनाले जिते कोरोनालाई

मातृभूमी संवाददाता । ३० जेष्ठ दैलेख

दैलेखका २२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लाको नारायण नगरपालिकाका २० महिने बालक सहित २२ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । नारायण नगरपालिकाको सरस्वती मावी तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २२ जना शुक्रवार घर फर्किएका छन् । उनीहरुमा दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको हो । कोरोना संक्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका हुन् ।

कोरोना जितेर फर्किने सबै भारतबाट आएका नागरिक हुन् । आइसोलेसनमा उपचाररत उनीहरुको पीसीआर रिर्पाेट नेगेटिभ आएको र रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नम्बर २ का २१ र ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् ।
रेग्मीका अनुसार वडा नम्बर ६ का २७ वर्षीय पुरुष, वडा नम्बर ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नम्बर ९ का २० र ५० वर्षीय पुरुषले कोरोना जितेका हुन् । त्यसैगरी वडा नम्बर १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नम्बर ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको फोकल पर्सन रेग्मीले बताए ।
डिस्चार्ज भएकालाई दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, नारायण नगरपालिका १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठ लगायत अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्पगुच्छा दिएर बिदाइ गरे । घर फर्किने क्रममा उनीहरुले उपचारमा खटिएका सबै चिकित्सकलाई धन्यवाद दिँदै आत्मबल बढाएर कोरोनालाई सहजै जित्न सकिने बताएका छन् । शुक्रबार कोरोना जितेर डिस्चार्ज भएका २२ जना सहित दैलेखका २६ जनाले कोरोना जितेका छन् । डुङ्गेश्वर गाउँपालिकाका एकजना र दुल्लु नगरपालिकाका तीनजना कोरोना जीतेर यसअघि डिस्चार्ज भइसकेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *