दैलेखमा एक साताभित्रै पीसीआर मेसिन जोडेर परीक्षण थाल्छौं : नगरप्रमुख खड्का

नगरप्रमुख
रत्नबहादुर खड्का
नारायण नगरपालिका, दैलेख

कर्णाली प्रदेशका अन्य जिल्लाको तुलनामा दैलेखमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । मंगलबारसम्मको तथ्यांकका आधारमा कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या एक हजार ८६ मध्ये ६ सय ३४ जना दैलेखका मात्र हुन् । छिमेकी देश भारत तथा अन्य तेस्रो मुलुकबाट घर फर्किनेको संख्या ह्वात्तै बढेपछि दैलेखमा कोरोना संक्रमण पनि फैलिन थालेको हो । हाल दैलेखमा बाह्य जिल्लाबाट आउनेलाई राख्न बनाइएका क्वारेन्टाइन तथा कोरोना संक्रमितलाई राख्ने आइसोलेसन कक्ष व्यवस्थापनमा हम्मेहम्मे छ । यसैबिच दैलेखको नारायण नगरपालिकाले कोरोना संक्रमणको जोखिम न्यूनिकरण तथा स्वाब परीक्षणका लागि पीसीआर मेसिन खरिद गरेको छ । उक्त मेसिन विहिबारभित्रै जिल्ला पुग्ने र एक साताभित्रै जडानको काम सकेर स्वाब परीक्षण सुरु गर्ने मेयर रत्नबहादुर खड्काले बताए । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको शारांसः

कोरोना नियन्त्रणमा कसरी जुटिरहनु भएको छ ?

मुख्य समस्या पीसीआर रिपोर्ट निकै ढिलो आउँदा क्वारेन्टाइनमा महिनौ दिन राख्नुपर्ने अवस्था आयो । जिल्ला भित्रिनेको संख्या बढेको बढ्यै गर्दा क्वारेन्टाइन व्यवस्थापनमा सकस हुन थाल्यो । नारायण क्याम्पसको मैदान बसपार्क जस्तो देखिन थाल्यो । उद्दार गर्ने मन्त्री तथा सांसदहरुले दैदेखका विभिन्न स्थानीय तहमा जाने नागरिकलाई पनि एउटै गाडीमा पठाउँदा सबै नारायण नगरपालिकामा आउन थाले । यसरी दिनहुँ सँयौंको संख्यामा हुलकाहुल नागरिक नगरपालिकामा भित्रिन थालेपछि व्यवस्थापनमा हम्मेहम्मे नै भयो । एकसय पाँच वेडको आइसोलेसनमै दुईसय १२ जना राख्न बाध्य भयौं ।
क्वारेन्टाइनमा बस्नेको संख्या थामि नसक्नु भएपछि खुला चौरमै पनि क्वारेन्टाइन राख्न बाध्य भयौं । उनीहरुलाई खाना, कपडा, बस्ने ठाउँ, सरसफाई सामाग्री लगाएतको व्यवस्थापनमा निकै कठिनाई भयो । पीसीआर रिपोर्ट ढिलो आउँदा मान्छे राख्ने ठाउँ भएन । आरडीटी पोजेटिभ देखिए पनि १४ दिनसम्म क्वारेन्टाइन राख्दा कुनै लक्षण नदेखिएकालाई घर पठाउन बाध्य भयौं । पीसीआर रिपोर्ट ढिलाईका कारण २८ दिनसम्म क्वारेन्टाइनमै राखेर नागरिकलाई घर पठाएका छौं । यसरी सकि नसकी स्रोत साधानले भ्याएसम्म व्यवस्थापन गर्दै कोरोनासँगको लडाइँ लडिरहँदा क्वारेन्टाइनमै नागरिक आन्दोलीत भए । अझैँ तीनसय जना नगरपालिकाको क्वारेन्टाइनमा छन् ।

नागरिकलाई उद्दार गर्दा समन्वय नगरेकै कारण भोग्नु परेको जटिल समस्या के हुन् ?

पहिलो कुरा त जथाभावी पहुँजको भरमा उद्दार गरेर रातारात गाउँ पठाएका कतिपय नागरिक क्वारेन्टाइन पुगेका छैनन् । यसले पनि थप संक्रमणको जोखिम बढेको छ । समन्वय नगरेकै कारण केहीदिन अघि दुवईबाट ४ नम्बर वडाका एक नागरिक राती १ बजे सुर्खेतबाट दैलेख आएछन् । उनी तल्लो डुङगेश्वरममा झरेर अलपत्र परेछन् । पछि आर्मी हेडक्वाटरबाट मलाई मेजरको फोन आयो । उनको उद्दार गरी क्वारेन्टाइन राख्नुपर्ने भयो भन्ने कुरा भयो । त्यसपछि मैले धेरै गाडी पठाउन खोजेँ । राती कसैले जान मानेनन् । १५ किलोमिटरमा ५५ सयसम्म भाडा भन्न थाले ।

क्वारेन्टाइनमा बसेकाहरुलाई त आन्दोलन नै गर्न बाध्य बनाउनु भएछ नी ?

स्वास्थ्यकर्मीको अभाव छ । हामीले सकेसम्म आइसोलेसन, क्वारेन्टाइनमा बसेकाको सकेसम्म सबै व्यवस्थापन गरिहेका छौं । तर मेयर, जनप्रतिनिधि, केपी सरकार मुर्दाबाद भन्दै नारा लगाउँछन् । मोदी हाईहाई भन्दै नारा लगाउँछन् । मेयर रिचार्ज कार्ड हालिदे भन्दै नारा लगाउँछन् । एकदुई जनाले उचालेकै कारण सबै आन्दोलीत भएका हुन् । तर कुरो त बुझ्नुपर्छ नी । अधिकांश भारतबाट फर्केर क्वारेन्टाइन बसेकाहरु १८/२० वर्षका छन् । यसरी नियम विपरीत गर्न हुदैन, भनेपछि आन्दोलन गर्छन् । संघीय सरकारले एक दिनमा एक जनालाई एकसय ७५ रुपैंयामा खानानास्ता व्यवस्थापन गर भन्छ ।
अन्तमा नगरपालिकाको दिनमा चलाउन सम्झौता गरिएको गाडी पठाएर उद्दार गरियो । यसरी एउटै नागरिकको उद्दारमा २०/२२ हजार खर्च गर्ने हो भने कसरी सम्भव हुन्छ रु समन्वय गरेर आएको भए, उनी दिनमा हिँडेरै पनि १५ किलोमिटर बाटो पार गर्न सक्थ्ये । यसरी समन्वयविना उद्दार गर्दा समस्या हुन्छ । पहिले समन्वय नगरी नागरिक आउँछन् । अनी कतै प्रहरीले रोक्यो भने फोन गर्छन् ।

त्यही रुपैंयाँले यहाँ विहान बेलुका खाना, दिनमा दुई पटक नास्ता दिन कसरी पुग्छ ?

विभिन्न आयोजनाबाट रकम काटेर भए पनि क्वारेन्टाइन, आइसोलेसन कक्षमा बसेकाको सबै व्यवस्थापन गरिरहेका छौं । पछि आफैलाई अख्तियारले समात्ने देखिन्छ । अनी कसरी उनीहरुलाई रिचार्ज हाल्ने रु यहीभन्दा मेयर मुर्दाबाद भन्दै आन्दोलन गर्छन् । घर आउने गाडी भाडा छैन भन्छन् । तर क्वारेन्टाइनबाट घर पैंसा पठाउँछन् । यी विभिन्न आन्दोलनका घटना केही व्यक्तिले उचालेर भएको हो ।

अब कसरी व्यवस्थापन गर्नुहुन्छ त ?

हामीले आफैँ पीसीआर मेसिन किनेका छौं । प्रदेशमै अहिले सुर्खेत र जुम्ला दुई वटा मात्रै पीसीआर मेसिन छन् । तीँ मेसिनले एक दिनमा दुईसयभन्दा बढी परीक्षण गर्न सक्दैनन् । यही रप्तारले पीसीआर परीक्षण गर्दा रिपोर्टको पर्खाइमा रहेका नागरिकलाई कति दिनसम्म क्वारेन्टाइन राख्ने ? सरकारले १४ दिनभन्दा १५ दिनको व्यवस्थापन खर्च दिदैन । यहाँ पीसीआर रिपोर्टको पर्खाइमा महिनौदिन नागरिकलाई क्वारेन्टाइन राख्नुपर्ने बाध्यता छ । क्वारन्टाइन राखेकै कारण नागरिक आन्दोलन गर्दै चिर्पट र डण्डीले हामीलाई हान्न खोज्छन् । यता नागरिक आन्दोलन गरेर घर जान्छन् । गाउँलेहरु परीक्षण नगरेर घर आएको भन्दै विरोध गर्छन् । त्यसैले विकासे बजेट रकमान्तर गरी नगरपालिकाले आफै पीसीआर मेसिन किनेको हो । उक्त पीसीआर मेसिन जिल्ला पशु स्वास्थ्य अस्पतालको हातामा एक हप्ताभित्रै जडान गरेर स्वाब परीक्षणको काम थाल्नेछौं । पछि त्यो मेसिन जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरिनेछ । यो कामको लागि भुमिका खेल्ने सांसद रविन्द्र शर्मा र दैलेखी सेवा समाजलाई धन्यबाद दिन चाहान्छु ।

अन्त्यमा, नगरपालिकाले ल्याउँदै गरेको बजेटमा के कस्ता कार्यक्रमलाई प्राथमिकता दिइनेछ ?

संघ र प्रदेश सरकारले ल्याएको बजेट कोरोना महामारी र रोजगारीका कार्यक्रममा केन्द्रित भएकाले हामी पनि यही आधारमा बजेट तथा नीति र कार्यक्रम ल्याउनेछौं । वेरोजगार यूवाको सीप र क्षमता पहिचान गरी कार्यक्रम बनाउनेछौं । (२०७७ साउन ३ गते बुधबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित) साभार युगन्युज डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!