दैलेखमा पिसिआर मेशिनवाट स्वाव परीक्षण शुरु
मातृभूमी संवाददाता । १० असार दैलेख
कर्णाली प्रदेशको दैलेखमा सवैभन्दा वढि कोरोना संक्रमित देखिएसंगै कोरोना परीक्षणका लागि जिल्लामै वुधवारवाट स्वाव परीक्षण शुरु गरिएको छ । गत जेठ ६ गते दैलेख ल्याईएको पिसिआर मेसिनवाट स्वाव परीक्षण गर्न वुधवार नै औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले एक कार्यक्रमकाविच दैलेख सदरमुकाममा रहेको स्वाव परीक्षण केन्द्रको उद्घाटन गरेका छन् । नेपालमा जिल्लाका लागि पिसिआर मेशिन जोडिएको दैलेख मात्र हो ।
एक करोड ६ लाखको लागतमा ल्याईएको सो पिसिआर मेशिन दैलेख निर्वाचन क्षेत्र नं. १ को निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको रकमवाट ल्याईएको वताईएको छ । दैलेख क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माले कोरोनाको संक्रमण दिन प्रतिदिन वढ्न थालेपछि दैलेखी जनताको स्वास्थ्यको ख्याल राख्दै मेशिन ल्याइएको जानकारी दिए । कर्णाली प्रदेशमा संक्रमणको जोखिम वढेको र परिक्षण मेशिन कम भएकाले कोरोना परिक्षणको रिपोर्ट ढिलो आउने गरेकाले दैलेखमा मेशिन आवश्यक रहेको उनले वताए । उनका अनुसार केन्द्रिय निर्देशक समितिको निर्णय अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषवाट एक हजार किट र पिसिआर मेशिन ल्याईएको हो ।
मेशिन जडानपछि अव दैनिक सय भन्दामाथिको परिक्षण हुने र अव स्वाव परीक्षणका लागि जुम्ला र सुर्खेत पठाउनुपर्ने वाध्यता टरेको स्वास्थ्यकर्मीले वताएका छन् । पिसिआर मेशिनवाट स्वाव परीक्षण अहिले सयभन्दा माथि भएपनि थप सामग्रीवाट यसको दायरा वढाउन सकिने स्वास्थ्यकर्मीले जनाएका छन् ।