पार्टी विवादमा अल्झने होइन, जनताको जीवन रक्षामा जुटौंः प्रधानमन्त्री ओली

मातृभूमी संवाददाता । २७ असार काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक विषय भएकाले यसलाई समाधान गर्ने जिम्मेवारी पनि नेताहरुको भएको भन्दै जनताको जीवन रक्षामा जुट्न अपील गरेका छन् । देशवासीका नाममा टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाढी–पहिरोका कारण ३१ जनाको मृत्यु भएको र ३४ जना हराइरहेको जानकारी दिए ।
सरकारले बाढी पहिरोमा परेकाको उद्धार र राहतमा कुनै कसर बाँकी नराख्ने भन्दै उनले यस कार्यमा सघाउन सबैलाई अपील समेत गरेका छन् । मुलुक कोरोनाको कष्टकर अतिसाध्य, सलहको संकट र प्राकृतिक विपदसँग जुधिरहेका बेला प्रधानमन्त्री र सत्तारुढ दल नेकपाका नेताहरु सत्ताको लुछाचुँडीमा लागेको भन्दै तीब्र आलोचना भएपछि उनले देशवासीलाई सम्बोधन गरेका हुन् ।
कोरोना भाइरसको संकट अझै नहटेको भन्दै उहाँले पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना माहामारीको जोखिम बढ्दै गएको औल्याए । समुदायमा संक्रमण फैलिएमा अवस्था भयावह हुने भन्दै उनले सामाजिक दुरी अपनाउन, मास्क र स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिए । आफ्नै पार्टीका नेताहरुले आफूलाई पदबाट हटाउन खोजेकातर्फ संकेत गर्दै उनले महामारी र प्राकृतिक विपत्तिको समयमा राजनीतिक किचलो किन भन्ने प्रश्न उठ्नु स्वभाविक भएको उल्लेख गरे ।
जनताको जीवन रक्षाको दायित्वबाट विमुख भएर आन्तरिक विमती वा समस्यामा अल्झिन नसकिने भन्दै उनले सरकारको ध्यान र प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *