‘ठुल्दाईलाई हाईड्रो, माल्दाईलाई रेडियो’ पैसा स्वहा
मातृभूमी संवाददाता । ३१ असार दैलेख
डुङ्गेश्वर गाउँपालिकाले ल्याएको बजेटप्रति कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरुले चर्को असन्तुष्टि जनाएका छन् । उनिहरुले बजेट अध्यक्ष केन्द्रित भएको आरोप लगाएका छन् । गाउँपालिकाको बजेट जनचाहाना अनुरुप र व्यवहारिक नभएको भन्दै संशोधन गर्नुपर्ने माग गरेका छन् । गाउँपालिकाले असार २६ गते आगामी आर्थक बर्ष २०७७/०७८ का लागि बजेट गाउँ सभामा पेश गरेको थियो । गाउँसभाले ३४ करोड ३२ लाख बराबरको बजेट पारित गरेको थियो । असार ८ गते कार्यपालिकाको बैठकले तयार पारेको बजेटको खाकालाई फेरबदल गरेर पेश गरिएको, छलफल बिनै बजेट पारित गरिएको असन्तुष्ट गाउँसभा सदस्यहरुले आरोप लगाएको छन् । गाउँसभामा कुनै पनि लिखित निणर्य नगरेर अध्यक्षले जर्बजस्ती बजेट पारित भएको घोषणा गरेको डुङ्गेश्वर गाउँपालिका–१ का वडाध्यक्ष लोकबहादुर डाँगीले बताए ।
‘मनोमारी तरिकाले बजेट पारित भयो, बजेट जनमुखी नभई वितरणमुखी भयो,’ वडाध्यक्ष डाँगीले भने ‘बजेट परिमार्जन गरी कार्यान्वयन हुनुपर्छ ।’ उनले बजेट व्यवहारिक नभएकोले सन्तुलित बनाउन माग गरे । ‘आर्थीक बर्ष २०७६÷०७७ मा समपुरक कोषमा विनियोजन एक करोड ५० लाखबाट सन्तोषजनक काम भएन्, आर्थिक बर्षको अन्त्यमा पनि काम सुरु भएको छैन्, आगामी आर्थीक बर्षका लागि पनि एक करोड ८४ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको छ, यो मान्य हुँदैन,’ वडाध्यक्ष डाँगीले भने ‘यसमध्ये एक करोड रुपैयाँ वडाबाट माग भई आएका योजना निर्माण हुनुपर्छ ।’
गाउँपालिकाले गाडी, मोटरसाइकल र एम्बुलेन्स खरिद गरी प्रयोगमा ल्याएपनि आगामी आर्थीक बर्षमा पुनः गाडी खरिदमा २८ लाख रुपैयाँ विनियोजन गरेर अनुत्पादक क्षेत्रमा बजेट खर्च गर्न खोजेको असन्तुष्ट पक्षको आरोप छ । उनिहरुले गाडी खरिदको बजेट कटौती गरेर विपन्न कृषकहरुको जीविकोपार्जनमा सघाउँ पु¥याउने कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राखेका छन् । गत बर्ष सञ्चालन गरिएको डुङ्गेश्वर महोत्सब पाँच लाख रुपैयाँमा खर्च भएपनि पुनः चालु शिर्षकमा ३ लाख विनियोजन भएको वडाध्यक्ष डाँगीले बताए । उक्त बजेट कटाएर विपन्न लक्षित कार्यक्रम गरिनुपर्ने उनको माग छ । गाउँपालिकामा रहेको कोटदेवल क्याम्पस र कृषि क्याम्पसको स्तरबृद्धिका लागि प्रत्येक बर्ष रकम विनियोजन हुुने गरेको भएपनि शिक्षकको तलबमा खर्चिएको उनले बताए । रकमको सहि सदुपयोग हुन नसकेको बेला आगामी आर्थीक बर्षमा पनि १८ लाख रुपैयाँ विनियोजन भएको भन्दै वडाध्यक्ष डाँगीले सशर्त अनुदानबाट क्याम्पस सञ्चालन हुनुपर्ने माग गरे । असन्तुष्ट पक्षले गत बर्षनै निर्माण भएका तर गत बर्षको भुक्तानी दिने उदेश्यले विभिन्न सडकका लागि ६५ लाख बढि बजेट विनियोजन भएको प्रति आपत्ती प्रकट गरेका छन् ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकनका आधारमा भत्ता तोक्नुपर्ने भएपनि मनोमानी ढंगबाट प्राविधिक तर्फका कर्मचारीहरुका लागि मात्रै फिल्ड भत्ता तोकिएको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजुकुमार खत्रीले बताए । उनले अन्य कर्मचारी र स्वास्थ्यकर्मीहरुको उपेक्षा गरिएको आरोप लगाए । लद्यु उद्यमी प्रोत्साहन कार्यक्रमका लागि १ लाख रुपैयाँ मात्रै विनियोजन भएको भन्दै उक्त बजेट बढाउनुपर्ने उनको माग छ । ‘हामीले चाहेको सन्तुलित विकास हो, तर बजेट सन्तुलित र वैज्ञानिक भएन्, वडाध्यक्ष खत्रीले भने ‘अनावश्यक बजेट तत्काल कटौती गर्नुपर्छ ।’ वडा सदस्य तेजबहादुर थापाले अध्यक्षले एकलौटी रुपमा गाउँसभा सदस्यहरुलाई छलेर बजेट विनियोजन गरेको भन्दै सन्तुलित रुपमा विनियोजन हुनुपर्ने माग गरे ।
गाउँपालिकाले रारा हाईड्रोपावरका लागी २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले हाईड्रोपावरका लागी विनियोजन गरिएको रकम शेयर शिर्षकमा छुट्याएको स्रोतको दावी छ । निर्माण कहिले सम्पन्न हुने हो ? क–कसको शेयर छ ? लगानीकर्ता कति छन् ? भन्ने कुनै कुराको टुंगो नहुँदै यसरी रकम छुट्याएको प्रति स्थानीय वासिन्दा समेत असन्तुष्ट भएका छन् । यस्तै गाउँपालिकाले दर्ता र संचालन नै नभएको रेडियोको नाममा ५ लाख अनुदान समेत छुट्याईएको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष राजुकुमार खत्रीले रेडियो संचालनमा आएको छैन तर अनुदान भनेर रकम छुट्याएर गर्न खोजेको के हो ? भन्दै प्रश्न उठाए । संचालनमा नभएको रेडियोका लागी अनुदान भन्दै ५ लाख रकम छुट्उनु अनि गाउँ सभा र कार्यपालिकाका सदस्यहरुको सल्लाह विनै हाईड्रोपावरका लागी रकम छुट्याउनु रकम हिनामिना गर्ने मनसाय देखिएको वडा नं. २ का स्थानीय मानवहादुर विष्टले वताए । विष्टले हाँस्दै भने, ‘ठुल्दाईलाई हाइड्रो, माल्दाईलाई रेडियो गाउँपालिकाको पैशा स्वाहा ।’ रारा डाईड्रोपावरका संचालक समितिका नरसिंह मल्ल गाउँपालिकाका अध्यक्ष नगेन्द्रवहादुर मल्लका ठुल्दाई र अमर मल्ल माल्दाई हुन् । अहिले पनि गाउँपालिकामा रेडियो संचालन गर्न रेडियो दर्ताका लागी समेत कुनै सुरसार गरिएको छैन ।