लकडाउन खुल्यो तर स्कुल, कलेज वन्द नै रहने
मातृभूमी संवाददाता । ०७ साउन काठमाण्डौ
सरकारले गएरातिदेखि लकडाउन अन्त्य भएको बताएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि विगत १ सय २० दिनदेखि लगाईएको लकडाउन अन्त्य भएको औपचारिक घोषणा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री डा युवराज खतिवडाले गरेका हुन् । सरकारी घोषणाका बाबजुद व्यवहारमा भने केही प्रतिबन्ध यो महिनाको अन्त्यसम्म कायमै रहनेछन् ।
सरकारका प्रवक्ता खतिवडाले लकडाउन गएराति १२ बजेदेखि अन्त्य भएको बताएसँगै सवारी साधानमा जोर बिजोर प्रणाली हटेको छ । यसैगरी सरकारी कार्यालयहरु आजदेखि एक सिफ्टमा मात्रै संचालन हुनेछन् ।
कुन क्षेत्र कहिलेबाट संचालन ?
–सामूहिक भोज पार्टी, सेमिनार, वा अन्य सामूहिक भेला बाहेक होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ, ट्राभल र पर्वतारोहणका गतिविधि साउन १५ देखि सञ्चालन ।
–राष्ट्रिय तथा अन्र्तराष्ट्रिय उडान र लामो दूरीको यातायात सेवासमेत भदौ १ देखि सञ्चालन ।
–भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड अनुसार हुने गरी छोटो, मध्यम तथा लामो दूरीमा जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन हुने गरी निजी तथा सार्वजनिक यात्रुवाहक सवारी समेत भदौ १ गतेबाट सञ्चालन ।
–अन्तर्राष्ट्रिय खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल समेत भदौ १ देखि नै सञ्चालन ।
–विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा भदौ १ बाट सञ्चालन ।
–विद्यालय कलेज, ट्युशन सेन्टर तालीम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर्शनी, भेला तथा सम्मेलन, सिनेमाहल, पार्टी, प्यालेस डान्सबार मनोरञ्जल स्थलहरु भने अर्काे सूचना नआए सम्मका लागि सञ्चालनमा रोक ।
–सैलुन, ब्युटीपार्लर, स्विमिङपुल, जिमखाना, धार्मिक तथा सामाजिकस्थल, समूहमा खेलिने खेल, पुस्तकालय सङ्ग्रहालय चिडियाखाना पनि अर्काे सूचना जारी नभएसम्मका लागि सञ्चालन गर्न पाइने छैन ।
–अन्र्तराष्ट्रिय सीमा नाकाको प्रतिबन्ध साउन ३२ गतेसम्म कायमै रहने जनाईएको छ ।