पुष्पलाल स्मृति दिवस दैलेखमा पनि मनाइयो
मातृभूमी संवाददाता । ०७ साउन दैलेख
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवस वुधबार दैलेखमा पनि मनाईएको छ । नेकपा दैलेखको आयोजनामा ४२औँ स्मृति दिवस दैलेखमा मनाईएको हो । स्मृति दिवसको अवसरमा गरिएको कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रतिनिधीसभा सदस्य रविन्द्रराज शर्मा, नेकपा दैलेखका नेताहरु टेकवहादुर खाँण, तेजवहादुर चन्द, सुर्यवहादुर शाही, मयाराम अधिकारी, गाेपाल नेपाली, रुद्र शाही, जनक न्यौपाने, विद्यार्थी नेताहरु रेखा थापा, नविन योगी लगाएतको वाक्लो उपस्थीति रहेको थियो ।
स्मृति दिवस कार्यक्रममा केहि युवाहरु विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा दुल्लु नगरपालिका ११ का राप्रपा दैलेख काठमाडौं सम्पर्क समाजका उपाध्यक्ष मिथुन मल्ल लगायत मान ब बिक, दिनेश मल्ल, धर्मराज कसाई र नारायण नगरपालिका वडा न ७ का सुशील शाही लगाएत ८ जनाले पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनिधीसभा सदस्य शर्माले सदस्यता दिएका थिए ।
कार्यक्रममा नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनिधीसभा सदस्य शर्माले जनताको विश्वास र मायाँलाई कसैले घात गर्न नहुने र घात हुन नदिने वताए । उनले भने, ‘अझै पार्टीलाई मजवुद वनाएर लैजान शिर्ष नेताहरुलाई अनुरोध गर्दै पार्टि एकताका केहि काम वाँकी रहेकाले तल्लो तह सम्म चाँडै नै सम्पन्न गरिने छ ।’ अनेरास्ववियुका केन्द्रिय सदस्य नवीन कुमार योगीले यो पार्टी प्रबेशले अझै पनि आम युवा विद्यार्थीको भरोसाको पार्टी नेकपा नै भएको भन्ने पुष्टि भएको वताए । उनले रास्ट्रिय राजनीतिमा पनि नेकपाका शिर्ष नेताहरु मिलेर जानुपर्ने दैलेखले सन्देश दिएको वताए ।
विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए । नेकपा खोल्नु भन्दा अगाडि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए ।
विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए । उनी सहिद गङ्गालालका भाइ हुन् । उनले स्थापना गरेको नेकपा विभिन्न चिरामा भए पनि अहिले वामपन्थीहरुको संसदमा राम्रो उपस्थिति छ र कुनै समूह सदन बाहिरको भूमिकामा छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।
व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् । नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे ।
अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् । नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।