समुदायमा कोरोना, ठाँटिकाधमा क्वारेन्टिन नजिकका स्थानीयमा संक्रमण

मातृभूमी संवाददाता । ०७ साउन दैलेख
दैलेखमा कोरोना भाइरस (कोभिड–१९)को समुदायस्तरमा परीक्षण सुरु भएको छ । प्रारम्भिक रिपोर्टमा स्थानीयमा संक्रमण भेटिएका छ । ट्राभल हिस्ट्री नभएहरुको स्वाब परीक्षण गरी समुदायमा संक्रमण छ छैन भनेर पत्ता लगाउन पहिलो पटक समुदायस्तर मै परीक्षण सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय, दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए ।
‘प्रदेशमै पहिलो पटक हामीले समुदायस्तरमा परीक्षण थालेका छौं,’ फोकल पर्सन रेग्मीले भने, ‘हामीले प्रत्येक पालिकाबाट ७०÷८० जनाको स्वाब संकलन गर्छौं, जसमा ट्राभल हिस्ट्री नभएहरु हुनेछन् ।’ फोकल पर्सन रेग्मीका अनुसार ठाँटीकाँध गाउँपालिकामा ७३ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । गुराँस गाउँपालिकामा समुदायबाट संकलन गरिएको ७० जनाको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।
स्वाब संकलन गरिएका अन्य स्थानीय तहको भने रिपोर्ट आइसकेको छैन । ‘क्वारेन्टिनस्थल आसपासबाट संकलन गरिएको नमुनामा संक्रमण पुष्टि भएको छ,’ दैलेख अस्पतालका प्रमुख डा. निरञ्जन पन्तका अनुसार अहिले नै समुदायस्तरमा संक्रमण देखिएको छैन, तर लोकल ट्रान्समिसनका केसहरु भने भेटिएको छन् । यसअघि दैलेखमा ट्राभल हिस्ट्री नभएका तर क्वारेन्टिन व्यवस्थापनमा संलग्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतमा संक्रमण भेटिएको थियो । यस्ता संक्रमितको संख्या ६२ पुगेको छ ।
अहिलेसम्म जिल्लामा दुई जना जनप्रतिनिधि, ६ जना स्वास्थ्यकर्मी, १४ जना नेपाल प्रहरी, २८ जना सशस्त्र प्रहरी, आठजना शिक्षक कर्मचारी र सञ्चारकर्मीमा संक्रमण देखिएको छ ।
समुदायस्तरमा संक्रमित हुनेमा ठाँटिकाँध गाउँपालिका वडा नं. १ का ३२ र ६० वर्षिय पुरुष, वडा नं. २ का १४, २१, ४०, ४१ र ४४ वर्षिय पुरुष तथा ३० वर्षिया महिला, वडा नं. ३ का ५३ र ५६ वर्षिय पुरुष, वडा नं. ४ का २७ वर्षिया महिला र वडा नं. ६ का २५, २७, ३४, ३५ र ४२ वर्षिय पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *