समुदायमा कोरोना देखिएपछि गाउँपालिकामा निषेधाज्ञा

मातृभूमी संवाददाता । ०८ साउन दैलेख
दैलेखको ठाँटीकाँध गाउँपालिकामा १६ जना कोरोना पोजिटिभ भेटिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । सो गाउँपालिकाभित्र कोरोना भाइरस (कोभिड–१९)को समुदायस्तरमा परीक्षण सुरु भएपछि ७३ वटा स्वाव संकलन गरिएको मध्ये वुधवार १६ जना कोरोना पोजिटिभ भेटिएपछि विहिवार (आज) स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रारम्भिक रिपोर्टमा स्थानीयमा संक्रमण भेटिएपछि थप सजगता अपनाउँदै स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरिएको वुझिएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलद्धारा हस्ताक्षरित सुचनामा कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकामा प्रवेश गर्ने सवै नाकाहरु वन्द गरी पुर्वमा रामाघाट खोला पश्चिममा स्याउलेकाँध उत्तरमा भर्तालेक र दक्षिणमा खामपाटे मटेलाभित्र कुनैपनि भेटघाट, जमघट, भिडभाड र आवतजावत नगर्न नगराउन विहिवार १२ वजदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरिएको छ । साथै सुचनामा आदेश उल्लघंन गर्ने व्यक्तिलाई प्रचलित कानुन वमोजिम कारवाही गरीने वताईएको छ ।
समुदायस्तरमा संक्रमित हुनेमा ठाँटिकाँध गाउँपालिका वडा नं. १ का ३२ र ६० वर्षिय पुरुष, वडा नं. २ का १४, २१, ४०, ४१ र ४४ वर्षिय पुरुष तथा ३० वर्षिया महिला, वडा नं. ३ का ५३ र ५६ वर्षिय पुरुष, वडा नं. ४ का २७ वर्षिया महिला र वडा नं. ६ का २५, २७, ३४, ३५ र ४२ वर्षिय पुरुष रहेका छन् ।
स्वाब परीक्षण गरी समुदायमा संक्रमण छ छैन भनेर पत्ता लगाउन पहिलोपटक समुदायस्तर मै परीक्षण सुरु गरिएको र पोजिटिभ भेटिन थालेको स्वास्थ्य सेवा कार्यालय, दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए । ‘प्रदेशमै पहिलो पटक हामीले समुदायस्तरमा परीक्षण थालेका हौं,’ फोकलपर्सन रेग्मीले भने, ‘हामीले प्रत्येक पालिकाबाट ७०÷८० जनाको स्वाब संकलन गर्ने योजना वनाएका छौ ।’
उनका अनुसार ठाँटीकाँध गाउँपालिकामा ७३ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ भने गुराँस गाउँपालिकामा समुदायबाट संकलन गरिएको ७० जनाको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ । स्वाब संकलन गरिएका अन्य स्थानीय तहको भने रिपोर्ट आइसकेको छैन । यसअघि दैलेखमा ट्राभल हिस्ट्री नभएका तर क्वारेन्टिन व्यवस्थापनमा संलग्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतमा संक्रमण भेटिएको थियो । यस्ता संक्रमितको संख्या ६२ पुगेको छ । अहिलेसम्म जिल्लामा २ जना जनप्रतिनिधि, ६ जना स्वास्थ्यकर्मी, १४ जना नेपाल प्रहरी, २८ जना सशस्त्र प्रहरी, ८ जना शिक्षक कर्मचारी र सञ्चारकर्मीमा संक्रमण देखिएको छ । दैलेखमा हालसम्म ८०८ जना कोरोना पोजिटिभ भेटिएकोमा ७८५ जना निको भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *