कोरोना कहर : समुदायमा कोरोना ठाँटिकाँधमा निषेधाज्ञा, २ दिनमा ४० जना संक्रमित

मातृभूमी संवाददाता । ०९ साउन दैलेख
दैलेखको ठाँटीकाँध गाउँपालिकामा १६ जना कोरोना पोजिटिभ भेटिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । सो गाउँपालिकाभित्र कोरोना भाइरस (कोभिड–१९)को समुदायस्तरमा परीक्षण सुरु भएपछि ७३ वटा स्वाव संकलन गरिएको मध्ये वुधवार १६ जना कोरोना पोजिटिभ भेटिएपछि विहिवार स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रारम्भिक रिपोर्टमा स्थानीयमा संक्रमण भेटिएपछि थप सजगता अपनाउँदै स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको वुझिएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलद्धारा हस्ताक्षरित सूचनामा कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकामा प्रवेश गर्ने सवै नाकाहरु वन्द गरी पुर्वमा रामाघाट खोला पश्चिममा स्याउलेकाँध उत्तरमा भर्तालेक र दक्षिणमा खामपाटे मटेलाभित्र कुनैपनि भेटघाट, जमघट, भिडभाड र आवतजावत नगर्न नगराउन विहिवार दिउँसो १२ वजदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरिएको छ । साथै आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुन वमोजिम कारवाही गरीने वताईएको छ ।
स्वाब परीक्षण गरी समुदायमा संक्रमण छ छैन भनेर पत्ता लगाउन पहिलो पटक समुदायस्तर मै परीक्षण सुरु गरिएको र पोजिटिभ भेटिन थालेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए । ‘प्रदेशमै पहिलो पटक हामीले समुदायस्तरमा परीक्षण थालेका हौं,’ फोकलपर्सन रेग्मीले भने, ‘हामीले प्रत्येक पालिकाबाट ७०/८० जनाको स्वाब संकलन गर्ने योजना वनाएका छौ ।’ उनका अनुसार ठाँटीकाँध गाउँपालिकामा ७३ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ ।
ठाँटिकाँध गाउँपालिका वडा नं. १ का ३२ र ६० वर्षिय पुरुष, वडा नं. २ का १४, २१, ४०, ४१ र ४४ वर्षिय पुरुष तथा ३० वर्षिया महिला, वडा नं. ३ का ५३ र ५६ वर्षिय पुरुष, वडा नं. ४ का २७ वर्षिया महिला र वडा नं. ६ का २५, २७, ३४, ३५ र ४२ वर्षिय पुरुष रहेका छन् ।
यसैगरी गुराँस गाउँपालिकामा समुदायबाट संकलन गरिएको ७० जनाको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ । यसअघि दैलेखमा ट्राभल हिस्ट्री नभएका तर क्वारेन्टिन व्यवस्थापनमा संलग्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतमा संक्रमण भेटिएको थियो । यस्ता संक्रमितको संख्या ६२ पुगेको छ । अहिलेसम्म जिल्लामा २ जना जनप्रतिनिधि, ६ जना स्वास्थ्यकर्मी, १४ जना नेपाल प्रहरी, २८ जना सशस्त्र प्रहरी, ८ जना शिक्षक कर्मचारी र सञ्चारकर्मीमा संक्रमण देखिएको छ । समुदायस्तरमै कोरोना संक्रमण बढ्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।
लकडाउन खुलेपछि दैलेखका ४० जनामा कोरोना संक्रमण
नेपाल सरकारले लकडाउन खोलेको दुई दिनमै दैलेखका ४० जनामा संक्रण देखिएको छ । लकडाउन खुलेपछि कोरोना संक्रमण हुनेमा दैलेखको ठाँटिकाँध गाउँपालिकाका १६ जना, महाबु गाउँपालिकाका ११ जना, आठबिस नगरपालिकामा १२ जना, र डुंगेश्वर गाउँपालिकामा १ जना गरि जम्मा ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय १३ पुगेको छ भने १ हजार ५ सय ५२ जना निको भएर घर फर्किएका छन् ।
दैलेख जिल्लाभर संक्रमित मध्ये ५२ महिला सहित ७ सय ८५ जना कोरोना जीतेर घर फर्किइसकेका छन् । दैलेख जिल्ला अस्पताल÷नारायण नगरपालिकाबाट २ सय ५४ जना डिस्चार्ज भएका छन् । नारायण नगरपालिकामा मात्रै २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको थियो । दैलेख जिल्ला अस्पताल÷नारायण नगरपालिकाबाट डिस्चार्ज भएका मध्ये अन्य जिल्ला र स्थानीय तहका संक्रमित समेत रहेको कोरोना फोकल पर्सन रेग्मीले जानकारी दिए ।
त्यसैगरी दुल्लु नगरपालिकाका १ सय ५ जना संक्रमित मध्ये ९३ जना, चामुण्डा विन्द्रासैनी नगरपालिकाका ६ जना, आठबीस नगरपालिकाका २४ मध्ये २३ जना, ठाटीकाँध गाउँपालिकाका २० मध्ये ४ जना, भैरबी गाउँपालिकाका १७ मध्ये ७ जना, महाबु गाउँपालिकाका १ सय ६७ मध्ये १ सय ६५ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् ।
यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेखको तथ्यांक अनुसार नौमूले गाउँपालिकाका १ सय ५१ मध्ये १ सय ४४ जना, भगवतीमाई गाउँपालिकाका १५ मध्ये १४ जना, डुङ्गेश्वर गाउँपालिकाका ७३ मध्ये ६६ जना र गुराँस गाउँपालिकाका १० मध्ये ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हाल जिल्लाभर ४९ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *