नयाँ शहरको काम तिव्र गतिमा, २०७६/०७७ मा ५८ प्रतिशत काम सम्पन्न

मातृभूमी संवाददाता । ०९ साउन दैलेख
मध्यपहाडी लोकमार्गमा पर्ने नयाँ शहरको काम धमाधम भैरहेको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत दैलेखको राकमकर्णालीमा निर्माण भैरहेको नयाँ शहरको काम आ.व. २०७६/०७७ मा ५८ प्रतिशत सम्पन्न भएको छ । नयाँ शहरको काम गर्ने योजना २०६५/०६६ देखि नै बनेको पनि कामले गति लिन नसक्दा काम सुस्त गतिमा चलेको थियो । तर केहि वर्ष यता नयाँ शहरको काम धमाधम हुन थालेको छ ।
अहिले राकमकर्णालीमा राजमार्ग क्षेत्रमा प्रतिक्षालय निर्माण, कुमालखाडा–सिगौडी देखी निमायल सम्मको सडक निर्माण, राकम वजारमा ३ सय मिटर पक्कि सडक निर्माण, मसानघाटमा प्रतिक्षालय निर्माण, नगरक्षेत्रमा सौर्य वत्ति जडान लगाएतका पुर्वाधार विकासका काम सम्पन्न भै हस्तान्तरण भैसकेका छन् । यस्तै पाट्केथान–सान्नेगडा खानेपानी आयोजना, भेल्तडी खानेपानी आयोजना, दिपेन्द्र प्राविदेखी भेल्तडी पुलसम्म सडक निर्माण कार्य लगाएतका काम संचालन भैरहेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा एकिकृत सरकारी भवनको अवधारणा अनुसार नयाँ शहर आयोजनाको भवन निर्माण गर्ने, सामुदायिक भवन निर्माण, वाँसखोलामा सार्वजनिक मन्च निर्माण, नैनेलमाण्डौमा कभर्ड हल निर्माण, वगर खेतमा जग्गा एकिकरण, तरकारी संकलन केन्द्र निर्माण लगाएतका पुर्वाधार निर्माण गरिने नयाँ शहर आयोजना कार्यालय राकमकर्णालीका सूचना अधिकारी दिपक दशौंदीले जानकारी दिए ।
उनले भने, ‘आर्थिक वर्ष २०७६/०७७ मा पुर्वाधार निर्माणका लागी आएको कुल वजेट ५८ प्रतिशत वजेट खर्च भएको छ । नयाँ शहर आयोजनाको काम सम्पन्न गरी वि.सं. २०९० साल सम्म एक लाख जनसंख्यालाई सो शहरमा वसोवास गराउने लक्ष्य सरकारले लिएको छ ।’ जग्गा अधिग्रहण प्रक्रियाको क्रममा मुआब्जा वितरणमा विवाद भएपछि आयोजनाको काम लामो समयदेखि रोकिएको थियो । विवाद समाधान भएसँगै नयाँ शहर आयोजनाको कामले गति लिन थालेको सूचना अधिकारी दशौंदीले वताए ।
सहरी विकास मन्त्रालयले नगर विकास ऐन, २०४५ को दफा ३.२ बमोजिम चार किल्ला भित्रको जग्गा स्वीकृत गरेपछि आयोजनाको विवाद सुल्झिएको हो । सहरी विकास मन्त्रालयको २०७६ भदौ ८ को निर्णय अनुसार आयोजनाका लागि चार किल्ला तोकिएको छ । आयोजनाका अनुसार चार किल्लाभित्रका जग्गाधनीले ७० प्रतिशत जग्गा विकसित घडेरीको रूपमा फिर्ता पाउनेछन् भने २२ प्रतिशत क्षेत्रफलमा शहरका लागी आवश्यक पर्ने पुर्वाधार निर्माण गरिनेछ ।
त्यस्तै नालामा ३ प्रतिशत र खुला क्षेत्रका रूपमा ५ प्रतिशत जग्गा प्रयोग गरिने जनाइएको छ । मुआब्जा विवाद टुंगो लागेसँगै आयोजनाको कामलाई तीव्रता दिन थालिएको निमित्त आयोजना प्रमुख सुशील रसाइलीले बताए । उनका अनुसार ९९ कित्ताको १ सय ३७ रोपनी जग्गा अधिग्रहण प्रक्रियामा विवाद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *