देशभर तत्काल लकडाउन हुँदैन : मन्त्रि डा. खतिवडा
मातृभूमी संवाददाता । २३ साउन काठमाण्डौ
देशभर तत्काल लकडाउन नहुने भएको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पारेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री डा. खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन् ।
उनले त्रसित भएर पूर्णरुपमा यस अघिजस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैलेपनि नबनाउन आम सर्वसाधारणलाई आग्रह गरे । मन्त्री डा. खतिवडाले अहिलेपनि दुई दर्जन भन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताए ।
उनले कोरोना संक्रमणको जोखिम कम गर्न कडाइ गर्ने र आर्थिक गतिविधि सञ्चालन गर्न खुकुलो गर्नेगरी बीचको बाटो अपनाउने बताए । यद्यपि, संक्रमणको जोखिम हेरेर ठाउँ–ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनको भनाइ छ । मन्त्री डा. खतिवडाले सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने÷नगर्ने विषयमा उदार भएर निर्णय गर्ने स्थिति नरहेको समेत बताए ।
अहिलेको स्थिति रहिरहेमा उदार बनेर सार्वजनिक यातायात खोल्ने, विद्यालय सञ्चालन गर्ने र उडान गरिहाल्ने अवस्था नरहेको उनको भनाइ थियो ।
यस्तै, विदेशमा अलपत्र परेका व्यक्तिलाईमात्रै उद्धार गर्नेगरी हवाई उडानको व्यवस्था गरिने पनि उनले बताए । काठमाडौं उपत्यकाभित्रको बढ्दो संक्रमण जोखिम र त्योपनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखम भएको हुनाले केही कदमहरु चाल्न सुरु गरिएको उनले बताए । जनजीवनमा अप्ठेरो परेपनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह गरे ।
‘क्वारेन्टिनहरु खाली हुँदै जाने र ‘आइसोलेसनका बेडहरु बढ्दै जाने स्थिति भएकाले सोही अनुसारको व्यवस्था गर्नुपर्ने आवश्यकता अनुसार काम भइरहेको उनको भनाइ थियो ।