२४ जना मात्र आइसोलेसनमा

मातृभूमी संवाददाता । २६ साउन दैलेख
दैलेखमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । कोरोनाको रेडजोन वनेको दैलेखमा संक्रमितको संख्या घट्दै गएपछि ग्रिन जोनतर्फ प्रवेश गर्न लागेको हो । कर्णाली प्रदेशमा सवै भन्दा वढि कोरोना संक्रमित रहेको दैलेख कोरोनाको रेडबाट ग्रिन जोनतर्फ प्रवेश गर्न लागेको हो । कोरोनाका संक्रमित धेरै रहेको दैलेखमा पछिल्ला दिनमा कोरोना संक्रमित निको भएर धमाधम घर फर्कि सकेका छन् ।
कोरोना परीक्षणको दायरा वढाईएको कोरोना विपद् व्यवस्थापन समिति दैलेखका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी युवाराज कटेलले बताएका छन् । प्रमुख जिल्ला अधिकारी कटेलका अनुसार दुई विधीवाट गरिएको कोरोना परिक्षणको रिपोर्ट सन्तोषजनक आएपछि दैलेख ग्रिन जोनतर्फ प्रवेश गरेको हो ।
जिल्लामा रहेको कोरोना विपद् व्यवस्थापन समिति, स्वास्थ्य सेवा कार्यालय, सुरक्षा निकाय, स्थानीय सरकार र नागरिकको उच्च सर्तकताका कारण दैलेखमा कोरोनाका बिरामी बढ्न नपाएको प्रमुख जिल्ला अधिकारी कटेलको भनाई छ ।
कोरोना परिक्षणको दायरा वढाउँदै समुदायस्तरमा गरिएको कन्ट्याक ट्रेसिङ विधीबाट कोरोना पोजेटिभ नदेखिनु, आइसोलेसनमा रहेका संक्रमित निको भई घर फर्किनुले जिल्ला संक्रमणको जोखिम कम रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन खोप अधिकृत थिरप्रसाद रेग्मीले वताए । उनका अनुसार जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै जानु र नयाँ संक्रमित फेला नपर्नु राम्रो संकेत हो ।
२४ जना मात्र आइसोलेसनमा
दैलेखका विभिन्न आइसोलेसन अस्पतालमा २४ जना मात्र कोरोना संक्रमित रहेका छन् । ११ वटा स्थानीय तहमा रहेका ९ सय ३३ जना कोरोना संक्रमित मध्ये ९ सय ९ जना कोरोना मुक्त भई घर फर्किएपछि २४ जना मात्र आइसोलेसनमा रहेका हुन् । स्वास्थ्य सेवा कार्यालय दैलेखको विवरण अनुसार स्वास्थ्य सेवा कार्यालयको आइसोलेसनमा १४ जना, दुल्लु अस्पतालको आइसोलेसनमा १ जना, महाबु आइसोलेसनमा ८ जना र डुंङ्गेश्वर आइसोलेसनमा १ जना गरी २४ जना कोरोना संक्रमित आइसोलेसनमा वसिरहेका छन् ।
दोस्रो चरणको पूर्वतयारी तीव्र
दोस्रो चरणमा फेरि संक्रमण फैलिने भन्दै यहाँका स्थानीय तहले पूर्वतयारीलाई तीव्र बनाएका छन् । नारायण नगरपालिकामा ५० बेडको आइसोलेसन निर्माण भएको छ भने दुल्लु नगरपालिका र महाबु गाउँपालिकाले २०÷२० शैयाको उपचार केन्द्र स्थापना गरेका छन् । जिल्लालाई कोरोनामुक्त बनाउन एकीकृत अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । ‘जिल्लामै पीसीआर मेसिन जडान भएपछि परीक्षण र स्वाब संकलनको दायरा बढाएका छौं,’ उनले भने, ‘समुदायस्तरमा शंकास्पद सबैको नमुना संकलन भइरहेको छ ।’ उनका अनुसार पछिल्लो चरणमा गरिएका अधिकांश स्वाबको रिपोर्ट नेगेटिभ आउन थालेको छ ।
कोरेनामुक्त बनाउन महाबु गाउँपालिकाले प्रत्येक वडामा कोरोना न्यूनीकरण समिति गठन गरी परिचालन गरेको छ । स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिलाई समावेश गरी समितिलाई क्रियाशील बनाइएको हो । केही जनप्रतिनिधिहरूलाई समितिले गरेका कामको अनुगमन गर्न खटाइएको गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए । उनका अनुसार १ सय ८५ जना संक्रमित भएको गाउँपालिकामा अहिले ८ जना मात्र आइसोलेसनमा छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखले मास्क नलगाएर हिँडडुल गर्नेलाई जरिवाना गर्न थालेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली व्यापारिक केन्द्रमा परिचालन गरी जरिवाना असुल गर्न थालिएको हो । सदरमुकाममा २४ सैं घण्टा प्रहरी परिचालन गरी निगरानी थालिएको दैलेखका प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले बताए । ‘मास्क नलगाउनेलाई प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना गर्न थालिएको छ,’ उनले भने, ‘सदरमुकाममा मात्रै दैनिक २ सय जनासम्म जरिवानामा पर्न थालेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *