४ महिनामा दैलेखका २३ जनाले गरे आत्महत्या
मातृभूमी संवाददाता । २७ साउन दैलेख
नेपालमा लकडाउन सुरुभएसँगै आत्महत्याको दर वढेको छ । दैलेखमा मात्र यो ४ महिनाको अवधिमा २३ जनो आत्महत्या गरेको दैलेख प्रहरीको तथ्यांक छ । कसैले कोरोनाको त्रास त कसैले जीवनदेखी नै हार खाएर आत्महत्या गरेको पाईन्छ ।
यसको एउटा उदाहरण होः दुल्लु नगरपालिका १० गमौडीका एक युवकले आत्महत्या गरे । उनी भारतको अहमदवादबाट जेठ ११ गते गाउँ आएका थिए । भारतबाट फर्र्किएका ती युवक १४ दिनसम्म क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनबाट फर्किएको १६ दिनपछि झुण्डिएको अवस्थामा ती युवकको शव फेला परेको थियो । आत्महत्या पछि स्वाब संकलन गरी गरिएको पीसीआर परिक्षणमा ती युवकमा कोरोना पोजेटिभ देखिएको थियो ।
यो प्रतिनीधिमुलक घटना मात्रै हो । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका बेला ठूलो संख्यामा आत्महत्याका घटनाहरु वाहिरिएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार लकडाउनको अवधिमा २३ जनाले आत्महत्या गरेको तथ्यांक छ । २०७६ चैत ११ बाट शुरू भएको लकडाउन २०७७ साउन ७ गते अन्त्य भएको थियो । यो अवधीमा दैलेखमा कोरोनाबाट ३ जनाको मात्र मृत्यु भएको छ ।
आत्महत्या गर्नेमा पुरुष वढि
आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढि छन् । घरेलु हिंसा, मानसिक तनाब, आर्थिक अभाव लगाएतका कारण आत्महत्या गर्ने गरेको पाईएको छ । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुले समेत आत्महत्या गरेको दैलेख प्रहरीले जनाएको छ । आत्महत्या रोक्न जिल्ला प्रहरी कार्यालय दैलेखले ठोस कदम चाल्ने जनाएको छ । आत्महत्या रोक्न विशेष कार्य योजना बनाएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रहरीको योजना छ ।
नेपालभर २ हजार २१८ जनाले गरे आत्महत्या
नेपालभर लकडाउनको अवधिमा २ हजार २ सय १८ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार २०७६ चैत ११ गतेदेखि २०७७ साउन ४ गतेसम्मको अवधिमा २ हजार २ सय १८ जनाले आत्महत्या गरेका छन् । यसमध्ये सबैभन्दा धेरै झुन्डिएर १ हजार ८ सय २८ जना, पानीमा हामफालेर १२ जना, छतबाट हाम फालेर १९ जना, विष खाएर ३ सय ४६ जना, हातहतियार र औजारबाट ८ जना र करेन्ट लगाएर १ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।
प्रदेश नम्बर ५ मा आत्महत्या गर्नेको संख्या बढी रहेको प्रहरीको तथ्यांक छ । लकडाउनको अवधिमा उक्त प्रदेशका ४ सय २९ जनाले आत्महत्या गरेका छन् । बाग्मती प्रदेशमा ३ सय ८५ जनाले र उपत्यकामा १ सय ४९ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेशमा आत्महत्याको संख्या सबैभन्दा थोरै १ सय १९ रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।