फेरी चुहियो आइसोलेशन अस्पताल, भत्किन थाल्यो ढलान

मातृभूमी संवाददाता । ३१ साउन दैलेख
दैलेख सदरमुकाममा रहेको आईसोलेसन अस्पतालको भवन फेरी चुहिन थालेको छ । निर्माण सम्पन्न भएको एक महिना नपुग्दै अस्पताल भवन चुहिन थालेपछि त्यहाँ उपचाररत कोरोना संक्रमितलाई समस्या भएको छ । लगातारको वर्षातपछि भर्खर निर्माण सम्पन्न सो भवन चुहिन थालेपछि आईसोलेसनमा रहेका विरामीहरु समस्यामा परेका छन् ।
दैलेखमा कोरोना संक्रमणको दर बढ्दै गएपछि कर्णाली प्रदेश सांसद अम्मर बहादुर थापाले आफुले खर्च गर्न पाउँने निर्वाचन क्षेत्र विकास कोष मार्फत ७१ लाख रुपिँयाको लागतमा निर्माण गरिएको उक्त भवन फेरी चुहिन थालेको हो । यस अघि पनि उक्त भवन चुहिन थालेको समाचार प्रकाशन भएपछि निर्माण कम्पनीले मर्मत गरेको थियो ।
नारायण नगरपालिका वडा ८ को तर्ताङमा निर्माण गरिएको आइसोलेसन अस्पताल निर्माण सम्पन्न भएको एक महिना नबित्दै चुहिन थालेपनि आइसोलेसन अस्पताल दैलेखमा उपचार गराइरहेका विरामीहरुका लागि समस्या भएको विरामीले वताएका छन् । आइसोलेसन अस्पतालमा उपचार गराई रहेका एक जना विरामीले लगातारको वर्षाले आइसोलेसन अस्पताल चुहिन थालेपछि आफुहरुलाई बस्न समस्या भएको बताएका छन् ।
उनले आइसोलेसन अस्पताल चुहिदा आफुहरु रातभर ओछ्यान सारेर बस्नु पर्ने अवस्था आएको बताए । उनले भने ७१ लाखको लागतमा निर्माण गरिएको आइसोलेसन अस्पताल एक महिना नपुग्दै चुहिन थालेपछि त्यसमा अनियमितता भएको हुन सक्ने वताए ।
अस्पतालमा उपचार गराइरहेका अर्का विरामीले आइसोलेसन अगाडिको बरन्डा उक्किसकेको र पानी चुहिएपछि रातभर ओत लागेर कुनामा बस्नुपर्ने अवस्था रहेको बताए । उनले पानी कति वेला चुहिने हो त्यो कुरेर ओछ्यान सार्नु पर्ने बाध्यता रहेको बताए ।
केहि दिन अघि आइसोलेसन अस्पतालमा उपचार गराईरहेका जनप्रतिनिधिले नै अस्पताल चुहिएको भन्दै स्थानीय प्रशासनलाई खवर गरेपछि प्रशासनले निर्माण कम्पनीलाई बोलाएर निर्माण गर्न आग्रह गरेपनि त्यसको सुनुवाई नगरकै कारण पुनःअस्पताल चुहिएको बताईएको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आइसोलेसन अस्पताल चुहिएको भन्ने गुनासो आए लगत्तै अघिल्लै पटक निर्माण कम्पनीलाई बोलाएर पुनःमर्मत गर्न लगाएका थिए । उनले निर्माण कम्पनीलाई काम गरे नगरेको आफुलाई खवर नगरेको र पुनःअस्पताल चुहिएको भन्ने गुनासो आएपछि कम्पनीलाई बोलाएर मर्मत गर्न लगाउने बताए ।
जेसिका कन्ट्रक्सनका प्रमुख प्रकाश बुढाले हतार हतारमा आइसोलेसन अस्पताल निर्माण गर्नु पर्ने बाधयताका कारण रात दिन नभनेर काम गर्दा समस्या भएको बताए । उनले आइसोलेसन अस्पतालमा माथी बाट किला हान्दा तलको रड नसमातेका कारण चुहिएको भएपनि त्यसलाई पुटिङ गर्ने बताए ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले आइसोलेसन अस्पताल चुहिएको खवर पाएपछि आफैले प्रदेश सांसद अम्मर बहादुर थापालाई लिएर अनुगमन गराएको र त्यस लगत्तै मर्मत कार्य सुरु गर्न निर्देशन समेत दिएको बताए । ११ वटा स्थानीय तह रहेको दैलेखमा यो समाचार तयार पर्दा सम्म कोरोना संक्रमितको संख्या ९६९ पुगेको छ भने ९२१ जना डिस्चार्ज भएका छन् । भने ४८ जनाको उपचार भइरहेको छ ।

त्यतिमात्र हैन भवन निर्माणका लागी तयार पारिएकाे फाउण्डेशन पनि भत्किएकाे छ । कमसल सामाग्री प्रयाेग गरी फाउण्डेशन निर्माण गर्दा भत्किन थालेकाे वुझिएकाे छ । फाउण्डेशन भत्किदा तल वालुवा मात्र देखिन थालेकाे छ । कर्णाली प्रदेशसभा सदस्य अमरवहादुर थापाकाे रू. ७१ लाखमा निर्माण गरिएकाे उक्त भवन विना प्रतिष्पर्धा एकलाैटी निर्माण कम्पनीलाइ काम गर्न नदिदा यस्ताे समस्या आएकाे नाम उल्लेख नगर्ने शर्तमा एक विरामीले भने । कुनै प्रतिष्पर्धा गराइएन एकलाैटि ढंगले एउटा कम्पनीलाइ काम गर्न लगाइयाे । अहिले कतै भत्किन थालेकाे छ । कतै चुहिन थालेकाे छ । यस्तै हाे भने याे भवनकाे आयु ६ महिना पनि नहुने उनले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *