लकडाउनभर २ हजार २ सय १८ ले गरे आत्महत्या

मातृभूमी संवाददाता । १० भदाै दैलेख

लकडाउनका १ सय १७ दिनमा २ हजार २ सय जना भन्दा बढीले आत्महत्या गरेको पाइएको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ गतेबाट साउन ४ गतेसम्मको अवधिमा २ हजार २ सय १८ जनाले आत्महत्या गरेका हुन् । यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ । प्रदेश ५ मा लकडाउनका १सय १७ दिनमा ४ सय २९ जनाले आत्महत्या गरेका छन् । जसमध्ये २ सय ३४ जना पुरुष छन् भने १ सय ५७ जना महिला छन् । १२ जना बालक र २६ बालिका पनि छन् ।

यस्तै प्रदेश १ मा ३ सय ७१  जनाले आत्महत्या गरेका छन् । जसमा १ सय ९३ जना पुरुष र १ सय ३५ जना महिला छन् । २१ बालक र २२ बालिका पनि छन् । प्रदेश २ मा लकडाउनका १ सय १७ दिनमा ३ सय ५ जनाले आत्महत्या गरेका छन् । जसमध्ये १ सय १७ पुरुष र १ सय १२ महिला छन् । २६ बालक र ५० बालिकाले पनि आत्महत्याको बाटो रोजेका छन् ।

वाग्मती प्रदेशमा ३ सय ८५ जनाले आत्महत्या गर्दा २ सय १३ पुरुष र १ सय ४५ जना  महिला छन् । १० बालक र १७ जना बालिकाले पनि आत्महत्या गरेका छन् । गण्डकी प्रदेशमा लकडाउनका १ सय १७ दिनमा २ सय ४६ जनाले आत्महत्या गरेका छन् । १ सय ४१ पुरुष र ८२ महिला छन् ।  ११ बालक र १२ बालिकाले आत्महत्या गरेका छन् ।

सबैभन्दा आत्महत्या कम हुने प्रदेशमा कर्णाली परेको छ । लकडाउनको १ सय १७ दिनको अवधिमा कर्णाली प्रदेशमा १ सय १९ जनाले आत्महत्या गरेका छन् ।  जसमा ७० पुरुष र ३८ महिला छन् । ५ बालक र ६ बालिका छन् । सुदूरपश्चिम प्रदेशमा १ सय १७ दिनमा २ सय ४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १ सय १३  पुरुष, ७९ महिला, ६ बालक र ६ बालिका छन् ।

यस्तै काठमाडौं उपत्यकामा १ सय ५९ जनाले आत्महत्या गरेका छन् । जसमा ९१ पुरुष, ६३ महिला, ३ बालक र २ बालिका छन् । यसरी १ सय १७ दिनको औसत आत्महत्याको दर निकाल्ने हो भने दैनिक १८ जनाभन्दा बढीले आत्महत्या गरेको पाइएको छ । लकडाउन बाहेक अन्य समयमा नेपालमा दैनिक १० देखि १४ जनासम्मले आत्महत्या गर्दै आएको प्रहरी तथ्याङ्‍कले देखाउँछ । नेपाल आत्महत्या गर्ने मुलुक मध्येको शीर्ष १०-१२ राष्ट्रभित्र पर्छ ।

विष खाएर र झुन्डिएर आत्महत्या गर्नेहरु बढी छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यसबाहेक आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर, आत्महत्या गर्नेहरु पनि छन् । आत्महत्याको कारण ठ्याक्कै भन्‍न नसकिने प्रहरी अधिकारी बताउँछन् । तर व्यक्तिगत तनाव, प्रेम सम्बन्धमा धोका, काममा असफलतालगायतले आत्महत्या गर्न बाध्य हुने गरेको पाइएको छ । लकडाउनको समयमा अन्य अपराध कम भए पनि आत्महत्या घट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *