निषेधाज्ञा जारी राख्दै, कडाई पनि गर !

दैलेख जिल्लामा लगातार तेस्रो पटक जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिन जरुरी छ । हिन्दु नारिहरुको महान् चाड हरितालिका तिजलाई मध्यनजर गर्दै पहिलो पटक गएको भदौ ४ गते, दोस्रो पटक भदौ ७ गते र तेस्रो पटक १० गते गरेका निषेधाज्ञा निरन्तर जारी गर्नु पर्ने जरुरी छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी राख्ने मात्र नभई कडाई गर्नु पर्दछ । पछिल्लो पटक गरिएको निषेधाज्ञा केहि खुकुलो वनाईएको भएपछि खुकुलो नवनाई अझै कडाई गर्नु पर्ने देखिन्छ । दैलेख र नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित दिनप्रतिदिन वढेको वढेई छन् । यस्तो परिस्थितिमा स्थानीय प्रशासनले गरेको निषेधाज्ञा निरन्तर जारी राख्दै थप कडाई गर्न तर्फ ध्यान दिनु पर्दछ । कोरोना संक्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञाको समय थप गरेको भएपनि निषेधाज्ञा थप मात्रै गर्नु भन्दा पनि कडाई गर्न जरुरी छ ।
जिल्लामा भेटिएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्न र स्वाव संकलन र चेकजाँचलाई थप प्रभावकारी र व्यापक वनाउनु पर्ने देखिन्छ । दैलेखमा हाल सम्म ७ हजार २ सय भन्दा वढिको स्वाव चेकजाँच गर्दा १ हजार ५० जना भन्दा वढिको रिर्पाेट पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिएका व्यक्तिका परिवार, छरछिमेक र आफन्तलाई उच्च निगरानीमा राखी कन्ट्याक ट्रेसिङ गर्नु पर्दछ । जसका कारण समुदाय स्तरमा कोरोनाको महामारी फैलन नपाओस् । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले अवको केहि दिनमा नेपालमा कोरोनाको महामारीले उग्ररुप लिन सक्ने भनी चेतावनी समेत दिईसकेको छ । यस विषम परिस्थितिमा चेकजाँचको दायरासँगै निषेधाज्ञा र लकडाउनलाई झन् कडाई गर्नपर्दछ ।
स्थानीय प्रशासनले यसअघि तेस्रो पटक निषेधाज्ञा गर्दा पसलहरु विहान ६ देखि ८ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म पसल खुल्ला रहने भनेको थियो । औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, खानेपानी, विद्युत, फोहोर–मैला व्यवस्थापन लगायतका अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि सेवाहरू सञ्चालन गर्न निषेध गरेको थियो । यति हुँदाहुँदै पनि यहाँका चिया पसल, होटेल, रेष्टुरेन्ट, तरकारी पसल, फेन्सि पसलहरु आधा सटर खोलेर व्यापार व्यवसाय संचालन भैरहेका छन् । यस्ता अटेरी व्यवसायीलाई कानुनी दायरामा नल्याय सम्म कसैले टेर्नेवाला छैनन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने तर निषेधाज्ञा पालना भए/नभएको तर्फ खासै चासो नदेखिएको पाईन्छ । निषेधाज्ञा जारी मात्र गर्ने नभई पुर्णरुपमा पालना भए/नभएको वारेमा निगरानी वढाउनु पर्ने देखिन्छ । कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु खुलेआमा समाजमा हिड्नु, सवैको सम्पर्कमा जानु, भिडभाडमा जानु, घरमै वस्ने वातावरण नहुँदा नहुँदै पनि घरमा वस्छु भन्ने वित्तिकै घरमा वस्न दिनु, निषेधाज्ञाको पालना कडाई रुपमा नगराउनु आदि ईत्यादि कारणले नै महामारी फैलन सक्छ । त्यसैले वेलैमा सोचिएन भने पछि पछुताउनुको विकल्प छैन । पछि पछुताउनु भन्दा अहिले नै विषेश ध्यान दिनु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *