काज फिर्ता भए दैलेख पिसिआर ल्याव वन्द हुने निश्चित
मातृभूमी संवाददाता । १२ भदौ दैलेख
पिसिआर प्रयोगशालामा जनशक्ति अभाव हुदाँ पिसिआर परीक्षणमा समस्या भएको छ । जिल्ला अस्पताल दैलेखमा रहेको प्रयोगशालामा आवश्यक भन्दा कम जनशक्ति भएका कारण रिर्पोट आउँन पनि ढिला हुने गरेको छ । जनस्वास्थ्य प्रयोगशालाले बनाएको मापदण्ड अनुसार पीसीआर परीक्षणका लागि एकपटकको परीक्षणका लागि कम्तिमा ३ देखि ४ जना दक्ष चिकित्सक आवश्यकता पर्ने भएपनि दैलेखमा तीन जना प्राबिधिक टोलीले काम गरिरहेको जिल्ला अस्पताल दैलेखले जानकारी दिएको छ ।
दैलेख अस्पताल प्रयोगशालाका इन्चार्ज शंकर शाहीले जनशक्ति अभावका कारण पिसिआर परीक्षणमा समस्या भएको बताए । उनले तीन जना प्राबिधिक टोलीले काम गर्दै आएको भएपनि आफुहरुले दैनिक दुई सिफ्टमा काम गर्दै आएको बताए । उनले प्रयोगशालामा दैनिक दुई सिफ्टमा कोरोना परीक्षण गर्दा १२ घण्टा पिपिई लगाएर बस्न समस्या भएपनि आफुहरुले रातदिन नभनेर काम गरेको बताए । उनका अनुसार पिसिआर परीक्षण गर्दा संकलन गरिएको नमुनालाई आधिकारिक प्रयोगशालामा ल्याएपछि त्यसलाई दुई चरणमा परीक्षण गरिन्छ । पहिलो चरण भनेको आरएनए एक्सट्रयाक्सन हो जसमा दुई जना दक्ष जनशक्ति चाहिन्छ ।
आरएनए एक्सट्रयाक्सन गर्न नमुनाको संख्या अनुसार ६ देखी ८ घण्टा लाग्छ भने दोस्रो चरणमा एक्सट्रयाक्सन यो आरएनए लाई विभिन्न केमिकलसंग मिलाएर पिसिआर परीक्षणका लागि तयार गरिन्छ । जसलाई मास्टर मिक्स टेम्पलेट एडिसन भनिन्छ त्यस पछि मात्र पिसिआर मेसिनमा टेष्टको लागि राखिन्छ र मेसिनमा राखेको दुई घण्टा पछि रिर्पोट आउँछ । आएको रिर्पोटलाई दक्ष जनशक्तिले त्यसको अन्तीम रिर्पोट निकाल्नु पर्ने हुन्छ ।
समन्वय नहुँदा समस्या
कोरोना संक्रमणको हटस्पट भएपछि स्थापना भएको प्रयोगशालामा दैनिक पिसिआर परीक्षण गरेपनि स्थानीय तहको समन्वय अभावका कारण समस्या हुने गरेको छ । प्रयोगशालाका इन्चार्ज शंकर शाहीले स्थानीय तहले प्रयोगशालासंग समन्वय नगरेर धमाधम स्वाबहरु संकलन गरेर ल्याउने गरेका कारण समयमै रिर्पोट आउँन नसेको बतए । उनले दैनिक ९६ जना जतिको पिसिआर परीक्षण गर्ने सकिने भएपनि दैनिक पाँच सय भन्दा बढि स्वाबहरु आएपनि रिर्पोट आउँन समय लाग्ने बताए । उनले भने, ‘स्थानीय तहले समन्वय नगरेका कारण कहिले १० वटा मात्र स्वाब हुने कहिले खाली बस्नु पर्ने र कहिले बढि आउने गरेको छ ।’
पाइएन जोखिम भत्ता
कोरोना भाइरस संक्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि सरकारले जोखिम भत्ता दिएपनि दैलेख प्रयोगशालामा काम गर्ने प्राविधिक टोलीले जोखिम भत्ता पाउन सकेका छैनन् । नेपाल सरकार अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले प्रत्येक प्रयोगशालामा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता बापतको रकम पठाएपनि असार सम्म पाइएपनि त्यस भन्दा पछि कुन कार्यालयबाट भत्ता दिने हो त्यसको टुंगो नलागेको त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन।
प्रयोगशालाका इन्चार्ज शंकर शाहीले भत्ता र खानाको व्यवस्थापनका लागि कुरा गर्दा नारायण नगरपालिका दैलेख र स्वास्थ्य सेवा कार्यालय दैलेखले एक अर्कालाई भन्दै पन्छीने गरेको बताए । उनले नारायण नगरपालिका दैलेखले आफुहरुले पिसिआर मेसिन खरिद गरेर ल्याएको र त्यसपछि स्वास्थ्य सेवा कार्यालय दैलेखलाई हस्तान्तरण गरेका कारण भत्ताको रकम उत्तैबाट भुत्तानी गर्ने भन्ने गरेको र स्वास्थ्यलाई भन्दा नगरपालिकासंग माग्न भन्ने गरेको बताए । उनले बस्न, खाना र ओभर टाइमको समेत भत्ता पाउने नपाउने कुराको टुंगो नलागेको जानकारी दिए ।
काज फिर्ता भए प्रयोगशाला बन्द हुने
दैलेखमा पिसिआर मेसिन जडानसंगै परीक्षणका लागि प्रयोगशालामा बसेका स्वास्थ्यकर्मीको काज सम्झौता सकिन लाग्दा समेत कुनै निकायले पहल नगर्दा प्रयोगशाला नै बन्द हुने अवस्थामा आउने त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । प्रयोगशालाका प्रमुख शंकर शाही प्रदेश जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश बाट ३ महिना काजमा आएको र उनको काज भदौ ३० गते सकिने र उनी फर्केपछि प्रयोगशाला नै बन्द हुने अवस्था आउने निश्चत भएको छ । प्रयोगशालामा काम गर्ने शंकर शाहीको ३ महिना काज सकिने र स्वास्थ्य सेवा कार्यालयबाट खटाएका दिलिप केसीको समेत काज असारमा सकिदा समेत सरोकारवा निकायले चासो नदिदा प्रयोगशाला बन्द हुने अवस्थामा पुग्ने निश्चित भएको हो ।
ल्यावको रेर्कड कायम
दैलेखमा पिसिआर ल्याव संचालन भए यता नयाँ रेर्कड कायम भएको छ । शुक्रवार दैलेख ल्यावमा चेकजाँचका लागी ल्याईएका २ सय ६८ नमुना स्वाबको जाँच एकै दिनमा सकिएको छ । जस मध्ये सवैको रिर्पाेट नेगेटिभ आएको छ ।
दैनिक १ सयको हाराहारीमा चेकजाँच गरी रिर्पाेट निकाल्दै आएको दैलेख ल्यावले जनशक्ति अभावकै बिचमा एकैदिन यति ठुलो संख्यामा रिर्पाेट निकालेको हो । दैलेख पिसिआर ल्यावका इन्चार्ज शंकर शाहीका अनुसार एकैदिन यति ठुलो संख्यामा रिर्पाेट निकाल्नु र सवै नेगेटिभ आउनु दैलेख ल्यावको रेर्कड नै हो ।