पत्रकार महासंघ दैलेखका सदस्यलाई कोरोना
मातृभूमी संवाददाता । १२ भदौ दैलेख
दैलेखमा एकै दिन एक पत्रकार सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार १ जना पत्रकार सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सवै नारायण नगरपालिकाका हुन् ।
नगरपालिकाका ५ जना महिला र ६ जना पुरुषमा गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुल्लु नगरपालिकाका १० र नारायण नगरपालिकाका १ सय २० जनामा गरिएको परिक्षणमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
दैलेखमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा पहिलो पटक पत्रकारलाई कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएका ती पत्रकारलाई अहिले सदरमुकामस्थित आइसोलेसन अस्पतालमा राखिएको छ ।
कोरोना संक्रमित पत्रकारलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसीले बताए । कोरोना संक्रमणको आशंका गरिएका ती पत्रकारको बिहीबार स्वाब संकलन गरिएको थियो ।
नेपालमा मृतकको संख्या १९५ पुग्यो
नेपालमा शुक्रवार थप ९ सय २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ सय ६९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
योसँगै हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २० हजार २ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ जनामा पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय संक्रमित १६ हजार १९ रहेको छ । हाल देशभर क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन् ।
काठमाडौं उपत्यका ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ सय ५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १ सय ९५ जना पुगेका छन् ।
७१ जना पत्रकार संक्रमित
नेपाल पत्रकार महासंघले संक्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
महासंघमा अभिलेख भए अनुसार उच्च जोखिमबीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन् । जसमा केही पत्रकार महिलामा समेत संक्रमण देखिएको छ । महासंघको अभिलेख अनुसार मलुकका सात प्रदेश मध्ये छ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन् ।
कोभिड–१९ को संक्रमण नेपालमा दिनप्रतिदिन तीव्ररुपले बढिरहेको छ । पछिल्लो समय संक्रमणको दर वृद्धि भएसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ ।