डिमेगा दैलेखले बुझायो माग पत्र
मातृभूमी संवाददाता । १९ भदौ दैलेख
जिल्ला लघु उद्यमी समूह संघ दैलेखले जिल्ला प्रशासन कार्यालय मार्फत माग पत्र बुझाएको छ । संघका अध्यक्ष कविराज खत्रीको नेतृत्वमा गएको टोलीले माग पत्र बुझाएको हो । दैलेख जिल्लाका लघु, घरेलु तथा कृषि उद्यमीका समस्याहरु तत्काल सम्बोध गर्न प्रधानमन्त्री, कर्णाली प्रदेशका मूख्यमन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र दैलेख जिल्लाका ११ वटै स्थानीय तहलाई माग पत्र बुझाएको हो ।
कोरोना भाइरस (कोभिड–१९) ले अति उच्च जोखिमा परेको दैलेख जिल्लाका लघु उद्यमीहरु ठूलो समस्यामा परेको र सरकारले कुनै पनि राहतका लागि सहयोग नगरेको, वित्तिय संस्थाहरुले ब्याज, किस्ता मात्र असुल्न प्रयास गरेको तर ऋण लगानी नगरेको, गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, आय आर्जनमूलक कार्यक्रम आए पनि स्वरोजगारी श्रृजना गर्ने यस्ता कार्यक्रमहरु संचालन नगरेकाले माग पत्र बुझाउनु परेको अध्यक्ष कविराज खत्रीले जानकारी दिए ।
माग पत्रमा दैलेखलाई विशेष कोरना प्रभावित जिल्ला घोषणा गरी आयआर्जन मूलक कार्यक्रम लागु गर्न, लघु, घरेलु, कृषि उद्यमीहरुबाट उठाईदै आएको सबै प्रकारको कर २ वर्षका लागि छुट गर्न, जिल्ला स्तरीय औद्योगिक ग्राम, पालिका स्तरीय औद्योगिक ग्राम, कोसेली घर, स्थानीय कृषि उपज संकल केन्द्र निर्माण र स्थापना गर्न माग गरिएको छ ।
यसैगरी माग पत्रमा दैलेख सुर्खेत सडक खण्डलाई स्तरोन्नती गर्न, परियोजना र ग्रामीण क्षेत्रको जग्गा धितो राखेर सुलभ ब्याजदरमा लघु उद्यमीलाई ऋण उपलब्ध गराउन समेत माग गरिएको छ । माग पत्र वुझेपछि प्रमूख जिल्ला अधिकारी सन्तवहादुर सुनारले तत्काल नै सम्वन्धित निकायमा पठाउने वताए । प्रमुख जिल्ला अधिकारी सुनारले जिल्ला लघु उद्यमी समूह संघ, दैलेखले उठाएका मागहरु जायज भएकाले ती मागहरुलाई सम्बोधन गर्न आफ्नो तर्फबाट प्रभावकारी भूमीका निर्वाह गर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत प्रधानमन्त्रीलाई विभिन्न १२ वुँदे माग राखी माग पत्र वुझाईएको हो भने दैलेखका ११ वटै स्थानीय तहलाई १४ वुँदे माग राखी माग पत्र वुझाईएको हो । माग पत्रमा हाल दैलेख जिल्लामा कोरोना भाइरस संक्रमण हुनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको भन्दै नेपाल कै उच्च जोखिमका रुपमा दैलेख हुने संभावना देखिन्छ । यस्तो संकट र विपद्को घडीमा नेपालका अरु जिल्लाहरुको दाँजोमा दैलेखलाई नलिई सँधैको जस्तो उपेक्षामा नराखी दैलेखलाई तत्काल उद्यम ब्यवसाय संरक्षण, प्रर्वद्धन र नागरिकहरुको रक्षाका लागि विशेष कार्यक्रमहरु लागु गर्न माग गरिएको संघका अध्यक्ष खत्रीले जानकारी दिए ।