वेथिति श्रृंखला–२३ : सडक स्तरोन्नतिमा डेढ करोड स्वाहा, अवस्था उस्तै

मातृभूमी संवाददाता । २६ भदौ दैलेख
दैलेखको ठाटीकाँध गाउँपालिकामा सडक स्तरोन्नतिमा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । गाउँपालिकाको चिने–ठाटीकाँध हुँदै बिजारे सडक स्तरोन्नतिमा अनियमितता भएको स्थानीयले आरोप लगाएका हुन् । आ.व. २०७५/०७६ मा उपभोक्ता समिति मार्फत स्तरोन्नति गरिएको सोहि सडकमा आ.व. २०७६/०७७ मा एक ठेकेदार कम्पनीलाई काम गर्न लगाईएको थियो ।
गाउँपालिकाले आ.व. २०७६/०७७ मा सडक स्तरोन्नतिका लागि ७४ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको थियो । सोहि सडकमा आ.व. २०७५/०७६ मा ८० लाख रकम विनियोजन गरी स्तरोन्नति गरिएको थियो । दुई वर्षमा लगातार लाखौँ रकम खर्चेर सडकको स्तरोन्नति गरेतापनि वर्षातको भेलसँगै सडक पुरानै अवस्थामा आउने गरेको स्थानीय विर्खवहादुर शाहीले वताए । उनले भने, ‘केही ठाउँमा मात्रै ग्राभेल गरेर रकम सक्ने मात्रै काम भयो, पानी परेको बेला सडकमा मान्छे हिँड्न समेत मुस्किल हुन्छ ।’
सडकको स्तरोन्नतिमा ठेकेदार, उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा अनियमितता भएको स्थानीयको आरोप छ । प्राविधिक स्टमेट मिलाएर सडकमा अनियमितता गरिएको उनीहरुको आरोप छ । गुणस्तरहीन ग्राभेल गरी उपभोक्ता समिति र ठेकेदारले रकम सिध्याएको स्थानीय कमल शाहीले बताए । उनका अनुसार सडकमा जथाभावी छरिएको ढुंगा र गिट्टी उप्किसकेका छन् । ‘सबै ग्राभेल माटोमा मिसियो,’ उनले भने, ‘स्तरोन्नति गरिएको सडकमा साना गाडी चलाउन पनि मुस्किल छ ।’ गाउँपालिकाले भने १५ सय मिटर ग्राभेल गरिएको दाबी गरेको छ ।
आ.व. २०७५/०७६ मा सडक स्तरोन्नतिका लागी ८० लाख विनियोजन गरी उपभोक्ता समिति मार्फत काम गराउँदा काम पुरा नगरेको भन्दै ८० लाखमा १२ लाख घटाएर भुक्तानी दिएको थियो । सोहि सडक स्तारोन्नतिका लागी आ.व. २०७६/०७७ मा ७४ लाख ४० हजार विनियोजन गरेको गाउँपालिकाले सुरुमा उपभोक्ता समिति मार्फत काम गर्न खोजे पनि नसकेपछि ठेकेदारको जिम्मा लगाएको हो । सडक ग्राभेलको जिम्मा विजय कन्स्ट्रक्सन सुर्खेतले पाएको थियो । सडक स्तरोन्नतिका लागि सुरुमा ५० लाख रुपैयाँ विनियोजन गरी उपभोक्ता समितिलाई जिम्मा दिए पनि नसकेपछि ठेकेदार मार्फत गराउँदा २४ लाख रुपैयाँ थप गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ५ लाख रुपैयाँको काम बाँकी भएको भन्दै ठेकेदारलाई ६९ लाख रुपैयाँ भुक्तानी दिएको छ ।
सडकको स्तरोन्नतिमा अनियमितता भएको ठेकेदार उपेन्द्र बोहोराले स्वीकारेका छन् । ‘योजनाबाट ५० लाख बचाएर घर र कार किनेँ,’ उनले भने, ‘ग्राभेल १५ लाखको पनि भएको छैन, केही रकम उपभोक्ता समितिका पदाधिकारीलाई वितरण गरियो ।’ रकम नपाएका केही व्यक्तिले आफ्नो विरोध गरेको उनको दाबी छ ।
बजेट फ्रिज जाने भएपछि असार मसान्तमा ठेकेदार मार्फत हतारमा काम गराइएको उपभोक्ता समितिका सचिव मानबहादुर विष्टले बताए । उनका अनुसार समितिमा खर्च भएको ७४ हजार रुपैयाँ राखेर बाँकी रकम ठेकेदारलाई दिइएको हो । ‘समितिसँग स्रोत–साधन नभएकाले ठेकेदारलाई काम दिएका हौं,’ उनले भने, ‘समितिले पाउने पुरै रकम समेत पाएको छैन ।’
इन्जिनियरले प्राविधिक स्टमेट अनुसार काम भएको प्रतिवेदन पेश गरेपछि ठेकेदारलाई भुक्तानी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बावुराम नेपालीले बताए । सडकमा सम्झौता अनुसार काम भएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले दाबी गरेका छन् । हाल सम्म यहि सडकका लागी दुई आर्थिक वर्षमा गाउँपालिकाले डेढ करोड वढि रकम खर्ची सकेको छ । तर सडक भने जस्ताको त्यस्तै रहेको सर्वसाधारण नागरिकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!