बालविवाह गर्ने दुई जोडी पक्राउ

मातृभूमी संवाददाता । १० असोज दैलेख
नौमूले गाउँपालिका ३ द्वारीका १७ वर्षीय एक बालक र नौमूले गाउँपालिका ५ नौमूलेका १६ वर्षीया एक बालिकालाई बालविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गएको भदौ १० गते बालविवाह गरी बसेको भन्ने सूचनाको आधारमा उनीहरुलाई शुक्रवार नौमूले गाउँपालिका ३ द्वारीबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनमोल श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी डुंगेश्वर गाउँपालिका ४ अवलपराजुलका २७ वर्षीय पूर्णबहादुर बुढाले सोही गाउँपालिका ३ चौखुडाकी १५ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको भदौ ३० गते बालविवाह गरेको भन्ने पीडित पक्षको उजूरीको आधारमा असोज ६ गते पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।
यी दुबै जोडीलाई बाल विवाह कसूरमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । मुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १७३ ले उमेर २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह मानेको छ । ऐनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैंयाँसम्म जरिवाना तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *