अनशन फिर्ता लिन डा. गोविन्द केसीलाई सरकारको आग्रह

मातृभूमी संवाददाता । १६ असोज काठमाण्डौ
सरकारले १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं अनशनमा बसेका डा. केसीलाई अहिले अनशन बस्ने समय नभएको तर्क सरकारको छ । सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीबाट आम नागरिकलाई जोगाउनु पर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना जस्ता विषय सुहाउँदो नभएको बताए ।
ज्ञवालीले डा. केसीका धेरै माग पूरा भएको दाबी गर्दै ‘यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय नभएको वताए । केही विषय बाँकी रहेछ भने पनि छलफल गर्न सकिने भन्दै ज्ञवालीले अनशन फिर्ता लिन आग्रह गर्दै भने, ‘मेरो नेपाल सरकारको तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरुलाई आग्रह छ । अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिड विरुद्धको लडाईंमा जोडियौं । जनतालाई महामारीबाट जोगाऔं, बाँकी विषय त हामी समय क्रममा छलफल गर्दै जान सक्छौं ।’
कोरोनाबाट एक जना चिकित्सकलाई गुमाउनु परेको भन्दै उनले यस्तो बेलामा अनशन फिर्ता लिएर कोरोना विरूद्धको लडाइँमा एकजुट हुन डा. केसीलाइई आग्रह गरे । भदौं २९ गते जुम्लाबाट १९ औं अनशन थालेका डा. केसीको स्वास्थ्य कमजोर भएपछि काठमाडौंको शिक्षण अस्पतालमा अनशनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *