गृहमन्त्री रामवहादुर थापाको चर्को आलोचना
मातृभूमी संवाददाता । १६ असोज काठमाण्डौ
नेपालमा एक दशकयता बलात्कार र बलात्कारजन्य घटना चार गुणा बढीले बढेको देखिन्छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र ४९६ बलात्कारको मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । तथ्यांकले यस्तो बताइरहँदा गृहमन्त्री रामबहादुर थापाले भने राजनीतिक संक्रमणकालमा यस्ता घटना भइहाल्ने र अरु मुलुकसँग तुलना गर्दा चिन्ताजनक नभएको अभिव्यक्ति दिएपछि यसको चर्काे आलोचना भएको छ ।
यही असोज ७ गते बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या भयो भने सप्तरीकी १७ वर्षीया संगीता मण्डलले सामूहिक बलात्कारपछि न्याय नपाउँदा आत्महत्याको बाटो रोजिन् । दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्याकान्डमा संलग्नलाई सरकारले अझैपनि कानुनी दायरा ल्याउन सकेको छैन । यी त केही प्रतिनिधि घटनामात्र हुन् ।
सरकारी निकायकै तथ्यांक हेर्ने हो भनेपनि नेपालमा वर्षेनि ठूलो संख्यामा बलात्कारजस्तो जघन्य अपराध हुने गरेको छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा बलात्कारको घटना बढ्दोक्रममा छ । आर्थिक वर्ष २०७२–७३ मा एक हजार ८९ बलात्कारको मुद्दा दर्ता भएको छ भने २०७३÷७४ मा एक हजार १ सय ३१, २०७४÷७५ मा एक हजार ४ सय ८० मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी दुई हजार २ सय ३० र २०७६÷७७ मा दुई हजार १ सय ४४ मुद्दा दर्ता भएका छन् ।
यसरी हेर्दा पछिल्लो पाँच वर्षको अवधिमा आठ हजार बलात्कारका मुद्दा दर्ता भएका छन् । तथ्यांकले नेपालमा बलात्कारको घटना डरलाग्दोरुपमा बढिरहेको देखिन्छ । तर, यस्ता घटनामा गम्भीर बन्नुपर्ने सरकारका गृहमन्त्री भने विकसित राष्ट्रहरुसँग तुलना गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । संसदीय समितिमा बलात्कारीलाई मृत्युदन्डको सजाय हुनुपर्ने धारणा व्यक्त गर्ने सांसदहरुले समेत गृहमन्त्रीको यस्तो अभिव्यक्तिमा न त कुनै प्रतिक्रिया दिए, न कुनै आपत्ति नै जनाए ।
सार्वजनिक भेला, संसद र संसदीय समितिमा बलात्कार विरुद्ध चर्काे आवाज उठाउने महिला सांसदहरु समेत गृहमन्त्री थापाको अभिव्यक्ति विरुद्ध उत्रन सकेनन् । बलात्कार जस्तो घटनालाई हलुका र गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति राज्यको जिम्मेवार पदमा बस्न नसुहाउने महिला अधिकारकर्मी रेनु अधिकारीको भनाइ छ ।