प्रदेश–५ को राजधानी भालुवाङ, नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय

मातृभूमी संबाददाता । १६ असोज बुटवल

प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको छ । शुक्रबार सरकारका तर्फबाट प्रदेश-५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी र नामाकरणबारे प्रस्ताव दर्ता गराएका हुन् । मन्त्री केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेस भएको जानकारी दिए ।

प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ । गत पुसमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गरेका थिए । पोखरेलकै आग्रहमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश-५ को राजधानी दाङ-देउखुरी तोक्न सहमत भएको बताइएको छ । वाग्मती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो ।

उक्त प्रस्ताव प्रदेशसभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ । यसअघि, गण्डकी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशले नाम र राजधानीबारे टुंगो लगाइसकेका छन् । प्रदेश नम्बर-१ र प्रदेश नम्बर-२ ले भने नाम र राजधानीबारे टुंगो लगाउन सकेका छैनन् । प्रदेश-५ मा प्रदेश राजधानी रुपन्देही बनाउने कि दाङलाई बनाउने भन्ने विषयमा विवाद थियो । प्रदेश मन्त्रिपरिषद्को यो निर्णयसँगै अब उक्त विवाद टुंगिएको छ । प्रदेशसभाको अर्को बैठक यही असोज १९ गते बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *