कोरोनाविरुद्ध नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ हुने
मातृभूमी संबाददाता । १६ असोज काठमाण्डौ
कोरोनाभाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ ।
परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले कोभिड-१९ सँग मिल्दो भाइरसका लागि जापान, चीन, रसियालगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको वताए । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको उनले वताए ।
आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल
यस बाहेक नेपालमै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल हुने भएको छ । परिषद्का सदस्यसचिव ज्ञवालीले प्रदेश नम्बर-५ र प्रदेश नम्बर-२ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको वताए । जसमा जेठी मधु (एस्टी मधु) र तीन कटु (पिप्ला, मरिच र सुठो)को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको उनले वताए ।
खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यता अनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको उनले स्पष्ट पारे । आयुर्वेद अस्पतालले कोरोनाका बिरामीहरुलाई सुरुदेखि नै आफैंले बनाएको विभिन्न जडीबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ । यो औषधिको परीक्षण सफल भए कोरोना जस्तै अन्य भाइरसजन्य रोगका लागि औषधि बनाउने नेपाल पहिलो मुलुक हुनेछ ।