दैलेखका कोरोना संक्रमितको बाँकेमा मृत्यू
मातृभूमी संवाददाता । १८ असोज दैलेख
दैलेखका एक कोरोना संक्रमितको वाँकेमा मृत्यु भएको छ । शनिवार विहान पेटमा आन्द्रा फुटेर उपचारका लागि बाँके पु¥याइएका नारायण नगरपालिका ८ तर्ताङ्गका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको वाँकेमा मृत्यु भएको हो । उनको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यू भएको जनाईएको छ ।
बाँके जिल्ला कोभिड संकट व्यवस्थापन समितिको समन्वयमा मृृतकको शव व्यवस्थापन गरिएको नेपालगञ्ज मेडिकल कलेजले प्रेस नोट जारी गरी जानकारी दिएको छ । घरको काम गरिरहेको बेला आकस्मात पेट दुखेको भनी अस्पताल आएको बेला आन्दा फुटेको पत्ता लागेपछि राम्रो उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको थियो । त्यहाँ कोरोना परीक्षणले समय खर्च नहोस् भनेर पीसीआर नमूना दैलेख प्रयोग शालामा पठाइएको थियो ।
बिरामीलाई कोहलपुरमा उपचार सुरु भइरहकै बेला दैलेखमा प्रयोगशालामा ती पुरुषमा कोरोना पुष्टी भएको दैलेख अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले जानकारी दिए । यो सहित दैलेखमा कोरोना भाइरस (कोभिड–१९) वाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । यस अघि गएको जेठ १७ गते दुल्लू नगरपालिका ११ कालभैरवका ३५ वर्षीय एक पुरुषको पीसीआर रिपोर्ट नआउदै क्वारेण्टीनमा ज्यान गएको थियो ।
अन्य मृत्यु हुनेमा दुल्लू नगरपालिका ३ का ३८ वर्षीय पुरुषको सुर्खेतस्थित प्रदेश अस्पतालमा किड्नी उपचार गराउँदै गर्दा मृत्यू भएको थियो भने असार पहिलो साता दुल्लू नगरपालिका १० का २१ वर्षीय पुरुषले आत्महत्या गरेपछि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
दैलेखमा कोरोना संक्रमितहरुको संख्या ११ सय नाघेको छ । सक्रिय संक्रमित २८ जना मात्र रहेका छन् ।