नारायणी नदीमा ‘मिनी पानी जहाज’ चलाउने तयारी
मातृभूमी संवाददाता । २१ असोज चितवन
चितवनको नारायणी नदीमा सञ्चालन हुने मिनी पानीजहाज (क्रुज सिप) छिटै सञ्चालन हुने भएको छ । सरकारले सार्वजनिक कार्यक्रम गर्न अनुमति दिएको एक महिनामै सञ्चालनमा ल्याउने तयारी भएको हो । मिनी पानीजहाज सञ्चालनको आन्तरिक तयारी सकिएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले कोरोना कहरका कारण नदीमा सञ्चालनमा ल्याउन नसकेको बताए । यसअघि यसको परीक्षण भइसकेको छ ।
जहाज चलाउने क्याप्टेन सहित मुख्य कर्मचारीहरु समेत छनौट गरिसकेको कँडेलले बताए । भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनेर बसेको ‘क्रुज सिप’ (मिनी पानीजहाज) को नारायणी नदीमा ‘टेष्ट ड्राइभ’ समेत सफल रुपमा सम्पन्न भइसकेको थियो । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटर सम्म ‘टेष्ट ड्राइभ’ भएसँगै विशिष्ट व्यक्ति पुग्दा बेलाबेला यसलाई चलाउने पनि गरिएको छ ।
दुरुस्तै पानीजहाज
दुई तलामा बसेर नदीको सयर गर्न सकिने क्रुज हेर्दा दुरुस्तै पानीजहाज जस्तो देखिन्छ । भित्रै रेष्टुरेन्ट र सांगीतिक कार्यक्रमको स्टेज, सुटिङ गर्ने ठाउँ, बैठक बस्न सकिने हल, सेल्फी खिच्ने स्थान, चालक दल बस्ने ककपिट छ । बनोट र आकारले नदीमा चल्ने पानीजहाज जस्तै देखिन्छ । नेपालको इतिहासमै पहिलो पटक यति ठूलो क्रुज सिप बनेको बताउँदै कँडेलले नेपालको जल यातायात र पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
नेपालको जल यातायातमा दुई सय जना क्षमताको यो नै पहिलो भएको कम्पनीका प्रबन्ध निर्देशक कँडेलले बताए । नेपालका नदीको क्षमता अनुसारको सबैभन्दा ठूलो जल यातायातको साधन पनि यही भएको उनको दाबी छ । नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माण गरिएको क्रुज सिप चलाउनका लागि भारत केरलाबाट क्याप्टेन ल्याइएको छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाज बनाउन झण्डै १५ करोड रुपैयाँ खर्च भएको छ । दुई वटा इञ्जिन रहेको क्रुजमा दुवै इञ्जिन एकैपटक नचल्ने गरी बनाइएको छ । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा मात्र अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ ।
सेल्फी खिच्न बैठक बस्न र सुटिङ गर्न मिल्ने
क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ । यहाँ बैठक पनि गर्न सकिन्छ । दोस्रो तलाको एक छेउमा विशिष्ट व्यक्तिका १० सिट बनाइएको छ । क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ ।
महिला र पुरुषका लागि अलग–अलग शौचालय, काउन्टर र बार बनाइएको छ । मिनी पानीजहाजभित्र सांस्कृतिक कार्यक्रम गर्दा आवश्यक ड्रेस चेन्जिङ रुम बनाइएको छ । एसी जडान गरिएको छ । क्रुजको भित्री भागमा राखिने कुर्सी आइसकेकाे कँडेलले बताए । क्रुज सिपमा १५ जना चालक दलका सदस्य र प्राविधिक हुनेछन् । क्रुज राख्न च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन बनाइएको छ । क्रुजबाट चढ्न र झर्न यहीँ नै आउनुपर्ने व्यवस्था मिलाइएको छ ।
दैनिक तीन सिफ्ट, ३५ किलोमिटर प्रतिघण्टा
क्रुजलाई दिनमा तीन सिफ्ट सञ्चालन गर्ने योजना रहेको कँडेलले बताए । प्रत्येक क्रुजिङ करिब तीन घण्टाको हुनेछ । त्यसमा काभ्रेघाटदेखि देवघाट र देवघाटबाट गोलाघाटको यात्रा गराइने कम्पनीले जनाएको छ । यसको गति प्रतिघण्टा ३५ किलोमिटरसम्म हुनेछ । वर्षातको तीन महिना यसलाई बन्द गरिनेछ । हिउँदमा निकै कम पानी हुँदा पनि यसलाई चलाउन सकिने प्रविधि जडान गरिएको कम्पनीको दाबी छ । क्रुज चलाउनु अघि हरेक दिन बिहान सानो बोटले हिँड्ने ट्रयाकको अवस्था जाँच गरिने कँडेलले जानकारी दिए ।
अनलाइनबाटै बुकिङ सुविधा
नेपालमा व्यावसायिकरुपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो हो । क्रुज सञ्चालनका लागि वातावरण बनेपछि अनलाइन बुकिङ आह्वान गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए । क्रुजसिपमा ब्रेकफाष्ट क्रुज, लन्च क्रुज र डिनर क्रुजका लागि अनलाइनबाटै बुकिङ खुला गरिने उनले बताए ।
बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइने छ । क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन/तीन घण्टाको यात्रा गराइने तयारी भएको उनले बताए । १ सय फिट लम्बाइ र २५ फिट चौडाइको क्रुजसिपमा २ सय जनाले आरामदायी यात्रा गर्न पाउनेछन् ।
साभार : उज्यालाे अनलाइन