पत्रकारिता र आमसञ्चार विषयको मासिक शुल्क घटाउन माग
मातृभूमी संवाददाता । २१ असोज दैलेख
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले मासिक शुल्क घटाउन माग गर्दै मंगलवार ज्ञापनपत्र पेश गरेका छन् । मानविकी र सामाजिक शास्त्र केन्द्रीय क्याम्पस अन्तरगत पत्रकारिता र आमसञ्चार विषयमा अध्ययनरत पहिलो सेमेस्टारका विद्यार्थीहरुले शुल्क घटाउन माग गर्दै मंगलवार ज्ञापनपत्र पेश गरेका हुन् । स्नातकोत्तरको पहिलो सेमेस्टरमा अध्ययनरत २४ जना विद्यार्थीहरुले बुधबार क्याम्पस प्रमुख तेजविक्रम बस्नेतलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छन् । विश्वविद्यालयले मासिक शुल्क चार हजार पाँच सय तोक्दा पत्रकारिता गरेर पढ्दै गरेका विद्यार्थीहरु मर्कामा परेको पत्रमा उल्लेख गरिएको छ ।
‘विद्यार्थीको आर्थिक क्षमताभन्दा बढी भएकोले यति धेरै शुल्क हामी तिर्न सक्ने अवस्थामा छैनौं’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसअघि नै डिन कार्यालय र पत्रकारिकता र आमसञ्चारका विद्यार्थीबिचको छलफलम शुल्क घटाउने सहमतिमै भर्ना गरेकाले शुल्क घटाउन अटेरी गरेकोमा आपत्ती छ ।’
शुरुमै पहिलो सेमेस्टरको शुल्क तिरिसकेकाले अर्काे सेमेस्टरमा मासिक दुई हजार शुल्क कायम गर्न विद्यार्थीहरुको माग छ । विश्वविद्यालयले शुल्क नघटाएमा चरणबद्ध आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी समेत दिएको चक्र केसीले जानकारी दिए ।