मदिरा नियन्त्रणमा प्रहरीको सक्रियता
मातृभूमी संवाददाता । २३ असोज दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेखले चार्डपर्वमा अत्याधिक मदिरा सेवन गरेर झै–झगडा तथा घरेलु हिंसाका घटनाहरु हुन सक्ने भन्दै अवैध घरेलु मदिरा नियन्त्रणमा सक्रियता वढाएको छ । चाड पर्वमा हुने अधिकांस घटनाको प्रमुख कारक मानिने मदिरा नियन्त्रणलाई जिल्ला प्रहरी कार्यालय दैलेखले तीव्रता दिईएको हो ।
दैलेख सदरमुकामलगाएत दैलेखका ११ वटै स्थानीय तहमा प्रहरी टोली खटाई अवैध घरेलु मदिरा नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सक्रियताका साथ लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले वताए । ‘वढि मदिरा सेवन गरी झै झगडा तथा हो हल्ला हुने दैलेखका अधिकांश स्थानहरुवाट अवैध मदिरा नियन्त्रणमा ल्याई नष्ट गरेका छौं’ प्रहरी प्रमुख श्रेष्ठले भने, ‘अझै केहि स्थानीय तहरुमा प्रहरीले निगरानी राखेको छ, र यो अभियानलाई निरन्तरता दिदै जान्छौं यसमा जनप्रतिनिधहरुको पनि सहयोग राम्रो पाएका छौं ।’ जिल्ला प्रहरी कार्यालय दैलेखले अवैध मदिरा उत्पादन तथा विक्रि वितरण नर्गन भनि पटक पटक सूचना जारी गर्दै आएको प्रहरी प्रमुख श्रेष्ठले वताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जम्वुकाँध, चुप्रा, भैसाखोर लालिकाँडा लगाएतका स्थानवाट ९ सय ७३ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । साथै मदिरा उत्पादनका लागि प्रयोग हुने ७२ केजी औषधी समेत नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।