वन्दावन्दीको वेला दैलेखमा ३५ जनाले गरे आत्महत्या
यज्ञराज थापा । दैलेख
दैलेखमा वन्दावन्दी सुरु भएपछि ३५ जनाले आत्महत्या गरेका छन् । दैलेखमा मात्र गत ६ महिनाको अवधिमा ३५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यति धेरै संख्यामा आत्महत्याका घटना हुनुमा विभिन्न कारण रहेका छन् । कसैले कोरोनाको त्रास अनि कसैले जीवनदेखी नै हार खाएर तनाव सहन नसकि आत्महत्या गरेको पाईएको छ ।
भारतको अहमदवादबाट लकडाउनको समयमा घर फर्किएका दुल्लु नगरपालिका–१० गमौडीका एक युवकले वन्दावन्दीकै वेला आत्महत्या गरे । उनी जेठ ११ गते घरमा आएका थिए । भारतबाट फर्र्किएका ती युवक १४ दिनसम्म क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनबाट फर्किएको १६ दिनपछि झुण्डिएको अवस्थामा ती युवकको शव फेला परेको थियो । आत्महत्या पछि स्वाब संकलन गरी गरिएको पीसीआर परिक्षणमा ती युवकमा कोरोना पोजेटिभ देखियो ।
कोरोना भाइरस (कोभिड(१९) महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका बेला यतिधेरै संख्यामा आत्महत्याका घटनाहरु भएपछि यसको प्रमुख कारण मानसिक तनाव नै रहेको जिल्ला प्रहरी कार्यालयको दावी छ । प्रहरीको तथ्याकंअनुसार आत्महत्या गर्नेमा वालवालिकादेखि वृद्धवृद्धासमेत रहेका छन् । आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढि छन् । प्रहरीका अनुसार सवैजसोले डोरीमा झुण्डिएर आएका गरेका हुन् । वन्दावन्दी शुरु भएदेखि आत्महत्या गर्नेमा २ वालवालिका, १३ महिला र २० पुरुष छन् । उमेर समुहवाट हेर्दा १० देखि १९ वर्षका ८ जना, २० देखि ३५ वर्षका १३ जना, ३५ देखि ४५ वर्षका ७ जना, ४५ देखि ६० वर्षका ५ जना र ६० वर्षदेखि माथि २ जनाले आत्महत्या गरेका छन् । जिल्लामा रहेका ११ वटा स्थानिय तहमध्ये वन्दावन्दीको अवस्थामा सवै भन्दा वढि आत्महत्याको घटना महावु गाउँपालिकामा भएको छ । सो गाउँपालिकामा सो अवधीमा ८ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी वन्दावन्दीको वेला नारायण नगरपालिकामा ५ जना, दुल्लु नगरपालिकामा ५ जना, गुराँस गाउँपालिकामा ४ जना, नौमुले गाउँपालिकामा ३ जना, भैरवी गाउँपालिकामा २ जना चामुण्डाविन्द्रासैनी नगरपालिकामा २ जना, आठविस नगरपालिकामा २ जना, डुंगेश्वर गाउँपालिकामा २ जना, भगवतीमाई गाउँपालिकामा १ जना र ठाँटीकाँध गाउँपालिका १ जना गरी ३५ जनाले आत्महत्या गरेका छन् ।
प्रहरीको अनुसंधानवाट घरेलु हिंसा, मानसिक तनाब, आर्थिक अभाव लगाएतका कारण आत्महत्या गर्ने गरेको पाईएको छ । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुले समेत आत्महत्या गरेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार आत्महत्या गर्नेमध्ये धेरैजसो युवायुवती भएकाले यो क्रमलाई रोक्न सचेतना अभियान संचालन गर्नुपर्ने देखिएको छ । मनोसामाजिक सचेतनाको प्रचारप्रसार आवश्यक देखिएको छ,’उनी भन्छन् ‘मानसिक वोकेर आत्महत्या नै गर्नुपर्ने अवस्थाले युवा जनशक्ति खेर गएको छ ।’ आत्महत्या रोक्न विशेष कार्य योजना बनाएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रहरीको योजना रहेको उनको भनाई छ ।