नेपालमा थपिए एकैदिनमा अहिलेसम्मकै सर्वाधिक संक्रमित, थप १४ जनाको मृत्यु

मातृभूमी संवाददाता । २४ असोज काठमाण्डौ

नेपालमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा पुष्टि भएको हालसम्मकै सर्वाधिक संख्या हो ।

थपिएका संक्रमितमा काठमाडौंका मात्रै २,१०० जना रहेका छन् । ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा १९,३२० ओटा नमुनाको ‘पीसीआर’ परीक्षण गरिएकोमा ६८ जिल्लामा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा एकैदिनमा गरिएको पीसीआर परीक्षणको सो संख्या पनि हालसम्मकै सबैभन्दा बढी हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १०५,६८४ पुगेको छ ।

थप १४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण दुई महिला र १२ पुरुष गरी १४ जनाको मृत्यु पुष्टि भएको शनिबार स्वास्थ्य मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षीया महिला तथा ४८ र ९० वर्षीय पुरुष गरी तीनजना, ललितपुरका ४३ र ४९ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष, सुनसरीका ४५ वर्षीय पुरुष, मोरङका २० र ७२ वर्षीय पुरुष, सर्लाहीका ७१ वर्षीय पुरुष, मकवानपुरका ७७ वर्षीय पुरुष, धादिङकी ३१ वर्षीया महिला, नवलपरासीपूर्वका ३६ वर्षीय पुरुष र रुपन्देहीका ५७ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

थप १,२२९ ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा देशभरबाट १,२२९ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७४,२५२ पुगेको छ ।

३० हजार नाघे सक्रिय संक्रमित
नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३०,८१८ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३२१ जना ‘आईसीयू’ र ७७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *