जुवा हारेपछि १६ वर्षिय बालक वेपत्ता
मातृभूमी संवाददाता । १५ कात्तिक दैलेख
जुवा हारेपछि १६ वर्षिय वालक वेपत्ता भएका छन् । महाबु गाउँपालिका ५ काशिकाँध घर भई विगत पाँच वर्षदेखि नारायण नगरपालिकाको किमुगाउँमा बस्दै आएका १६ वर्षिय वालक गोबिन्द बिक वेपत्ता भएका हुन् ।
बसन्त मावि किमुगाउँमा ९ कक्षामा अध्यनरत गोविन्द कोरोनाको कारण विद्यालय बन्द भएपछि दाजुहरुसँग मजदूरी गर्ने गर्थे । जिल्ला सदरमुकाम दैलेख बजारको एक घर निर्माणमा जुटेका गोबिन्द र उनका दाजुहरुले दशैंको अष्टमीको दिन दिउँसै काम रोके, मजदूरीको पैंसा पाए ।
गोबिन्दका दाजु बखतले रकम बुझेको दिन काम बिशेषले घर नगई खरिगैरा पुग्नु परेको कारण मासुको पैंसा तिर्न गोबिन्दको हातमा तीन हजार हात पारे तर त्यो रकम घर नपुग्दै साँझ दौतरीसंग तासको ‘काट’ भन्ने खेल खेल्दा सबै हारे ।
तासमा तीन हजार हारेका गोबिन्द राति ११ बजेतिर घर पुगे आमाले राखिदिएको खाना खाएर आफू सुत्ने कोठामो एक्लै सुते । भोलि पल्ट कात्तिक ९ गते विहान झुसमुसेमै घरबाट भागेर सुर्खेत पुगे तर अहिले उनी त्यहाँबाट पनि वेपत्ता भएका छन् ।
९ गते राति कहाँ बसे ? के खाए ? भन्ने थाहा नभए पनि १० गते दशैंको दिन पहिले चिनेको सुर्खेत बजारको एक सुनचाँदी पसल र एउटा होटलमा काम छ कि ? भनी सोधेको खुलेको छ । दशैंको दिन सुर्खेतमा देखिए पनि त्यसपछि उनी कहाँ कता गए भन्ने खुल्न नसेको परिवारजन बताएका छन् ।
कात्तिक १० गते सुर्खेतमा थिए भन्ने थाहा पाएर ११ गतेदेखि लगातार ४ दिनसम्म पनि खोजी गर्दा कतै पत्ता नलागेको गोबिन्दका दाजु बखतबहादुर बिकले बताए । दौतरीको लहलहैमा लागेर तासमा हारेपछि उनले सबै कुरा नखुलाए पनि ‘नजानेर गल्ती भयो माफ गर्नुहोला । म सधैंको लागि गएको होइन, फर्किन्छु’ भनेर आमालाई सम्वोधन गरेर लेखेको चिठ्ठी ९ गते दोपहरमा मात्र फेला परेको थियो ।
चिठ्ठीको भाषाबाट जुवामा हारेको रकम कमाएर फर्किने मन देखिन्छ तर कहाँ गए भन्ने खुल्न नसकेको कारण ६२ वर्षीया आमा रातादिन रोइरहेकी छिन् । उनको घरमा गोबिन्द, दाजु, भाउजु, एउटा बहिनी र आमा ५ जनाको परिवार छ । गोबिन्द ४ वर्षको छँदा बुबाको निधन भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखमा बालकको हुलिया सहित खोजी सहयोगका लागि निवेदन दिए पनि पत्ता लाग्न सकेको नसकेको प्रहरीले जनाएको छ । पढाई केही कमजोर भए पनि गोबिन्दले दैलेख सदरमुकामका तीन वटा पसलमा गरी ८–१० महिना सुनचाँदीको गहना बनाउने सीप सिकेका छन् । उनी लकडाउन यता ६ महिना भन्दा बढी दाजु र अरु डकर्मी मिस्त्रीहरुसंग मजदूरी गर्दैै आएका थिए ।