म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

मातृभूमी राजनितिक व्युराे । २० कार्तिक काठमाण्डाै

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कुनैपनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन् ।

उनले भने–‘तपाइँहरु विचार गर्नोस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, देशको लागि । मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्‍याएर भनेको छु । फेरि, केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’ प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए ।

कुनैपनि जालझेल तथा तिकडमबाट नभइ व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्नसमेत उनले आग्रह गरे । उनले भने–‘म यस ठाउँमा आएको मेरा रहरले होइन, जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्‍याएको जालझेल, तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाइँहरु ढुक्क भएर काममा लाग्नोस् । यो सरकार फेरिन्छ कि, बदलिन्छ कि, धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेकथरीका कोसिसहरु आए । जेमा पनि आलोचना गर्ने, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृतिहरु छन्, त्यसबाट प्रभावित नहोऔं ।’

प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागिरहेको समेत बताए । उनले भने–‘एकथरी अस्थिरताको खेती गरिरहने देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ, केहीको । एडिक्ट भएका छन्, कोही ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *