कर्णालीमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, १६ जनाको मृत्यु

मातृभूमी संवाददाता । २१ कात्तिक दैलेख
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या ६ हजार नाघेको हो । दैलेख अस्पताल प्रयोगशाला र प्रदेश अस्पताल पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ५७ जना पुगेको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सबैभन्दा बढी सुर्खेतमा ४०, दैलेखमा आठ, जुम्लामा एक, कालिकोटमा एक, जाजरकोटमा एक र अन्य प्रदेशका दुईजना गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महाशाखाका अनुसार कर्णालीका १० जिल्ला मध्ये सबै भन्दा धेरै सुर्खेतमा २ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि दैलेखमा १ हजार ५ सय १५, हुम्लामा ३४, मुगुमा ३२, डोल्पामा १५, जुम्लामा ३ सय २७, कालिकोटमा ३ सय ६, जाजरकोटमा १ सय ८, रुकुम पश्चिममा १ सय ८० र सल्यानमा ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ । अन्य प्रदेशका ४ सय १७ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत एवं जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार पछिल्लो २४ घन्टामा चारजना डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमण निको भइ डिस्चार्ज हुनेको संख्या ५ हजार २ सय ६७ पुगेको छ । हाल कर्णालीमा कोरोनाको सक्रिय संक्रमितको संख्या सात सय ९० छ । कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १६ छ ।
बिहीबार थप १८ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १ हजार ९१, ललितपुरमा १ सय ६० र भक्तपुरमा १ सय ४७ जना संक्रमित थपिए छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १ लाख ४८ हजार ४ सय ४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *