दैलेखमा पनि मनाईयो महाकवी देवकोटाको जन्मजयन्ती (तस्विर सहित)
मातृभूमी संवाददाता । २९ कात्तिक दैलेख
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज (शनिवार) स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसैविच दैलेखमा पनि देवकोटाको शालिकमा माल्र्यापण गरेर लक्ष्मी जयन्ती मनाईएको छ । विगतका वर्ष जस्तै यसवर्ष दैलेखमा महाकवी देवकोटोको जन्मजयन्ती भव्य रुपमा नमनाई औपचारीकतामा मात्र मनाईएको छ । यस वर्ष विश्वभरी महामरीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को प्रभावका कारण औपचारीकतामा मात्र महाकवी देवकोटाको जन्मजयन्ती मनाईएको पत्रकार विशाल सुनारले जानकारी दिए । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो ।
दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भने नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तला’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताएका थिए ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचार–प्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
तस्विर सहित