प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूत हाउविच फेरि भेट
मातृभूमी राजनितिक व्युराे । ३ मंसिर काठमाण्डाै
चरम सत्ता संकटमा फसेका प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार मध्यरातमा फेरि गोप्य मन्त्रणा गरेकी छन् । उनीहरुबीच झण्डै डेढ घण्टा वार्तालाप भएको बालुवाटार स्रोतले जनाएको हो । एउटा पार्टीको आन्तरिक विवादमा देशको राजदूतको खुलेआम दौडधूप भएकाप्रति भने प्रश्न उठ्न थालेको छ । जब जब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पदीय झगडा चरम बिन्दूमा पुग्छ चिनियाँ राजदूत हाउको सक्रियता एकाएक बढ्छ । राजदूत हाउको सक्रियता बढेसँगै नेकपाभित्रको विवादमा पानी खनिने पनि गरेको दृष्टान्त देखिँदै आएको पनि छ ।
नेकपाभित्रै पनि अनेक पटकका विवादमा चिनियाँ राजदूत हाउले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्षमा सक्रिय भूमिका खेल्दै आएको आरोप लाग्दै आएको छ । नेकपाभित्र नेताहरुको पदीय स्वार्थका लागि भएका झगडामा यसअघि पनि चिनियाँ राजदूत हाउले प्रधानमन्त्री ओलीका अतिरिक्त नेकपा शीर्ष नेताहरुलाई भेटेर दबाब दिएकी छन् । हाउले त्यसबेला शीतलनिवास पुगेर राष्ट्रपति विद्या भण्डारीसँग समेत भेटवार्ता गरेकी थिइन् ।
भेट के का लागि भएको भन्ने दुबै पक्षबाट जानकारी नगराइए पनि पार्टीभित्र पद त्याग्न अर्का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आरोप समेत प्रस्ताव पेश गरेपछि अफ्ठ्यारोमा परेका ओलीले आफूलाई सघाउन आग्रह गरेको अनुमान दाहाल पक्षीय नेताहरुको छ । पहिले पहिलेका विवादमा झै यस पटक पनि प्रधानमन्त्री ओली सचिवालयमा अल्पमतमा छन् भने बुधबारका लागि बोलाइएको बैठक गर्न दिने र नदिनेमा दुई पक्षबीच तानातन छ ।
नेकपा नेताहरुबीच बढेको विवादले पार्टी नै विभाजनको सम्मुखमा पुगेपछि गत बैशाख र असारमा पनि राजदूत हाउ यसैगरी सक्रिय भएका थिए । १९ गते केन्द्रीय सचिवालयमा ओली अल्मतमा परेपछि राजदूत हाउले पार्टीका अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग अलग–अलग भेटेर ओलीलाई सघाउन दबाब दिएका थिए । यसैगरी असारमा पनि राजदूत हाउले अध्यक्ष दाहाल, नेताहरु नेपाल र झलनाथ खनालसँग भेट गरी विवाद मिलाउन दबाब दिएपछि ओलीको पद जोगिएको थियो ।
यसै पृष्ठभूमिमा हाउले प्रधानमन्त्री ओलीसँग भेट गरेकाले एउटी राजदूतलाई कूटनीतिक मर्यादा लाग्ने कि नलाग्नै प्रश्न दाहाल निकट नेताले गरेका छन् । अरु बेला नागरिक स्वाभीमान, स्वाधीनता र राष्ट्रियताको नारा फलाक्ने अनि आन्तरिक राजनीतिक विवादमा खुलेआम विदेशी चलखेल गराउने उनको आक्रोश पोखे ।