नेकपामा ओली र दाहाल आ–आफ्नो रणनीतिक चालमा

मातृभूमी राजनितिक व्युराे । ३ मंसिर काठमाण्डाै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको कुर्सीको झगडा अब पार्टी फुटको दिशातर्फ उन्मुख देखिन थालेको छ । दुई पाइलट राखेर जेट विमान उडाएको दावी गर्दै आएका नेता कार्यकर्तालाई अहिले अध्यक्षद्वयकै हर्कत लाजको पसरो बनेको छ । हुँदाहुँदा सचिवलाय बैठक गर्ने र गर्न नदिनेमा नेताहरु जुँगाको लडाईं बनाउँदैछन् । बुधबार बोलाइएको बैठक रोक्ने दिशामा प्रधानमन्त्री एवं पहिलो अध्यक्ष केपी ओलीसहितका उनी पक्षधर नेताहरु लागेका छन् ।

यो बैठक जुनकुनै हालतमा त्यो पनि बालुवाटारमै गर्ने अडानमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपालसहितका ओलीविरोधी कित्ताका नेताहरु लागेका छन् । दुई अध्यक्ष ओली र दाहालले एकार्कामाथि सत्तोसराप गरेर लगाइएका आरोप पत्रमाथि छलफल हुने भएपछि बैठक गर्न दिने र नदिनेमै नेताहरु सम्पूर्ण शक्ति केन्द्रित गर्दैछन् ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालमाथि आरोपको वर्षा गरिरहेका बेला दाहालले लिखित रुपमै गएको सचिवालय बैठकमा ओलीको कार्यशैलीको निन्दा गर्दै प्रतिवेदन दर्ता गरेपछि नेकपाको दुई पाइलटवाला जेट दुर्घटना उन्मुख भएको हो ।

बुधबारको बैठक केही दिन सार्न ओलीको प्रस्ताव लिएर बुधबार आफ्नो दैलोमा आइपुगेका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई दाहालले सम्भव नभएको र बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएर फर्काएपछि ओली पक्ष पनि रणनीति निर्माणमा जुटेको छ ।

‘जे गर्ने हो अब बैठकमै गरौं’, दाहालको उत्तर थियो, स्रोत भन्छ । गत शुक्रबार बसेको सचिवालय बैठकमा दाहालले पदत्याग्न दबाब दिने गरी एकपक्षीय रुपमा आफूविरुद्ध प्रस्ताव पेश गरेको भन्दै आक्रोशित बनेका ओलीले अब दाहालसँग सँगै हिंड्न नसक्ने जवाफ पनि दिइ सकेका छन् ।

उनी पक्षीय नेताहरु पनि दाहालले सचिवालयमा लगेको प्रस्ताव फिर्ता नलिने हो भने दाहालसँग दोहोरो संवाद नै हुन नसक्ने बताइरहेका छन् । दाहालले पेश गरेको प्रतिवेदनमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको समेत समर्थन हुनुले नौं सदस्यीय सचिवालयमा ओली अल्पमतमा देखिएका छन् ।

दाहालले ओलीमाथि ‘गणतन्त्रविरोधी, राष्ट्रियताका पक्षमा ढुलमुले, संघीयता विरोधी, समाजवाद विरोधी, उदारवादको पक्षधर अनि भ्रष्टहरूको संरक्षक’ जस्ता विशेषण लगाउँदै आलोचना गरेकाले पनि ओली र उनको पक्ष दाहालसँग एउटै भान्सामा बस्न नसकिने निचोडमा पुगेको हो ।

दुबै पक्ष आ–आफ्नो रणानीति बनाउन दिनरात गूटीय बैठकमा केन्द्रित रहेका छन् । दुबै पक्षले आफ्नातिर नेताहरु तान्ने र संख्या बढी देखाउन चाल पनि चालिरहेका छन् । के त यस्तो अवस्थामा सत्ताका लागि झुत्ती खेलिरहेका कामरेडहरुले बुधबार बालुवाटारमा अर्को तमासा देखाउने छन् ? वा दुबै पक्ष फेरि एक÷एक बाल्टी चिसो पानी खन्याएर आ–आफ्नो गूटीय कुटीमा फर्कनेछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *